काठमाडौँ, । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सरकार जवरजस्ती बेपत्ता पार्ने कार्य लगायतका मानवअधिकार गम्भीर उल्लङ्घनका घटनाका सबै पीडित र तिनका परिवारहरूको साथमा रहेको बताएका छन् ।
जवरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज सन्देश जारी गर्दै उनले सशस्त्र द्वन्द्वको क्रममा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिका परिवारलाई न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
बेपत्ता पारिएका व्यक्तिका परिवारलाई के भएको थियो भन्ने सत्यता थाहा पाउने हक, न्यायको हक र परिपूरणको हक सुनिश्चित गर्न भर्खरै सरकारले संघीय संसदमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ प्रस्तुत गरिएको उनले जानकारी गराए ।
उक्त विधेयकमा हिजो भदौ १३ गते व्यापक छलफल भई विधेयकमा संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय सुरु भएको छ ।
सन्देशमा उनले संसदको यसै अधिवेशनबाट उक्त विधेयक पारित गर्ने र पीडितहरुको माग अनुसार चाडै एक विश्वसनीय र भरपर्दो आयोग गठन हुने जानकारी गराए ।
प्रस्तुत विधेयकले मुख्यरुपमा जबर्जस्ती बेपत्ता पारिएको ब्यक्ति र निजको परिवारका सदस्यलाई प्रष्टरुपमा पीडितको परिभाषामा समावेश गरिएको, जबर्जस्ती व्यक्ति बेपत्ता पार्ने कार्यलाई मानव अधिकारको गम्भीर उल्लङ्घन अन्तर्गत राखी त्यस्तो घटनामा मेलमिलाप र क्षमादान दिन नसकिने कानूनी व्यवस्था प्रस्ताव गरिएको, परिपूरणलाई पीडितको अधिकारको रुपमा सुनिश्चित गरिएको छ भने बेपत्ता पारिएको ब्यक्तिको परिवारका सदस्यले सम्पत्ति हस्तान्तरण र भोग चलनमा भोग्नु भएको समस्यालाई सम्बोधन गरिएको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्री कोइरालाले सन्देशमा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिनु भएका ब्यक्तिहरुको पुनः स्मरण गर्दै उहाँहरुले राष्ट्रहित, लोकतन्त्र र मुलुकको अग्रगामी परिवर्तनका लागि गर्नु भएको त्याग र वलिदानको लागि सम्मान व्यक्त गरेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९