काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राहदानी (पासपोर्ट) दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दा हरिप्रसाद फुँयाल एकल इजलासमा पेसी तोकिएको छ। मुद्दाको आठौँ नम्बरमा पेसी छ।
यसअघि मंगलबार पेसी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई सारिएको थियो ।
सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका थिए।
न्यायाधीश फुँयाल यसअघि रविको नागरिकता मुद्दाको सुनुवाइमा संलग्न थिएनन्।
सिन्धुलीका युवराज पौडैलले सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो । रिटमा उत्प्रेषण, परमादेशलगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको छ ।
यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णयविरुद्ध पौडेलले महान्यायाधिवक्ताको कार्यालयलाईसमेत विपक्षी बनाएर रिट दायर गरेका छन् ।
रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।
उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित पौडेलले गत माघ १७ मा जाहेरी दिएका थिए। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानका क्रममा स्वीकार गरेका थिए।
गत मंसिरको चुनावमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भई गृहमन्त्रीसमेत बनेका लामिछानेको पद नागरिकता मुद्दाका कारण गुमेको थियो। त्यसपछि नागरिकता लिई पुनः उम्मेदवारी दिएका बेला लामिछानेविरुद्धको राहदानी दुरुपयोगमा कारबाही माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९