बुटवल । एमालेका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि नयाँ सरकार गठनका लागि लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले गरेको आह्वानप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
प्रदेश सभाको सवैभन्दा ठूलो दलका रुपमा रहेको एमालेले संविधानको धारा १६८ (२) अनुसार गठन भएको सरकारले विश्वासको मत पा्रप्त गर्न नसकेपछि धारा १६८ (३) अनुसार नयाँ सरकार गठनको आह्रवान गर्नु पर्नेमा फेरि धारा १६८ (२) अनुसार नै बहुमतको सरकारको आह्रवान प्रदेश प्रमुखले गरेको भन्दै एमालेले आपत्ति जनाएको हो ।
एमालेले धारा १६८ (३) अनुसार सरकार गठनको आह्रवान गर्नुपर्ने र त्यसो गर्दा प्रदेश सभाको सवैभन्दा ठूलो दलको हैसियतमा एमाले दल नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताउँदैं आएको छ । धारा १६८ (२) अनुसार गठन भएको सरकारमा पनि एमाले दलका नेता लिला गिरी मुख्यमन्त्री बनेका थिए ।
प्रदेश सभाबाट विश्वासको मत नपाएका गिरीलाई नै फेरि पनि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुपर्ने एमालेको भनाई छ ।
तर मंगलबार प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले बुधबार विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको निर्णय विरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।
‘संसदमा सबैभन्दा ठूलो दललाई सरकार गठनका लागि नेपालको संविधानको धारा १६८(३) ले नै प्रबन्ध गरेको परिप्रेक्ष्यमा धारा १६८(२) बमोजिम गठन भएको सरकारले विश्वासको मत नपाएको अवस्थामा फेरि सोही धारा प्रयोग गर्नु कानुनी रुपमा सही हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो हस्तक्षेपकारी भूमिकाको हामी घोर विरोध गर्दछौं र कानुनी उपचारमा जान्छौं ।’
संविधान र कानुनले दिएको अधिकारलाई पूरै बेवास्ता गरी सरकार गठनको लागि तयारी हुनु भविष्यका लागि समेत गलत नजीर हुने एमालेको ठहर छ । यसलाई सच्याउन र कानुनको पूर्ण पालना गर्न पनि एमालेले आग्रह गरेको छ ।
८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ सांसद छन् । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४ जना,जसपा, लोसपाा र जनमतका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एक जना सांसद छन् ।
केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्र सहितका दलहरुले समर्थन फिर्ता लिएर नेपाली कांग्रेस र माओवादी केन्द्र सहित ८ दलका ५३ सांसदहरुले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनाउन एक महिना अघि नै दावी पेश गरेका थिए । तर प्रदेश प्रमुखले वैशाख १४ गते अपरान्ह ४ बजेसम्म बहुमत जुटाएर दावी पेश गर्न आह्वान गरेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९