दाङ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नेपाली कांग्रेसका नेता डिल्ली चौधरी बन्ने भएका छन् । गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीमा आधाआधा कार्यकाल आलोपालो गर्ने लिखित सहमति गरेर पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गरेर दाबी पेस हुन लागेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेसम्ममा संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्ने समय दिएका छन् ।
त्यो भित्रै सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी मिलेर चौधरीलाई मुख्यमन्त्री गराउने गरी दाबी पेस गर्न लागेका हुन् ।
माओवादीले लिखित सहमति गरेर कांग्रेसलाई पहिलो चरणमा मुख्यमन्त्री दिएपछि आफूहरुले ४ मन्त्रालय पाउनु पर्ने दाबी गरिरहेको छ । कांग्रेसले भने ३ मन्त्रालय मात्र प्रस्ताव गरेको छ ।
माओवादीले एमालेसँग गठबन्धन गरेर सरकार बनाउँदा आर्थिक मामिला, भौतिक पूर्वाधार र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लिएको थियो । अहिले भने कांग्रेस ३ मन्त्रालय दिने विषयमा तयार भएपनि मन्त्रालय कुन भन्ने विषयमा सहमति बनिसकेको छैन ।
बिहीबार मुख्यमन्त्री नियुक्त हुने र शुक्रबार शपथ लिएपछि मन्त्रिपरिषद् विस्तारबारे कुराकानी हुनेछ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९