करिब २ दशकको निजामती सेवाको यात्रामा सरकारले खटाएको ठाउँ र तोकिएको जिम्मेवारी जस्तोसुकै कठिन र चुनौतिपूर्ण भए तापनि सहज ढंगले निर्वाह गर्दै आइरहेको सन्दर्भमा पछिल्लो पटक सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखमा खटाइएको पत्र प्राप्त भएकोले आजदेखि चामुण्डा विन्द्रासैनी नगरपालिकाको लागि रमाना भएको अवस्था ।
जागिरको अधिकांश समय जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालय( फिल्ड कार्यालय) मा नै वितेको छः
– ऐतिहासिक संविधानसभा निर्वाचन २०६४ मा सुर्खेत जिल्लाको निर्वाचन अधिकारी भई सुर्खेत जिल्लामा संविधान सभा निर्वाचन व्यवस्थित र सुरक्षित बनाउन भूमिका खेलेको,
– जनताको घरनजिकका सरकारको रुपमा चिनिने तत्कालीन स्थानीय निकायमा लामो समय जनप्रतिनिधिको रिक्तता भई सेवा प्रवाह र विकास निर्माण कार्यमा व्यवधान सृजना भइरहेको परिवेशमा पटक पटक गरी झण्डै ३ वर्ष वीरेन्द्रनगर नगरपालिकाको प्रमुख एवं कार्यकारी अधिकृत भई कार्य गरेको,
– मधेस आन्दोलन र मधेस आन्दोलनको नाममा थुप्रै भूमिगत समूहले आतंक मच्चाइरहेको समय २०६६।६७ ताका मलंगवा नगरपालिका सर्लाहीमा प्रमुख एवं कार्यकारी अधिकृत भई कार्य गरेको,
– नयाँ संविधानको निर्माणसँगै मुलुक सँघीयतामा प्रवेश गरेको र सँघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य एवं अन्तरसम्बन्धको स्पष्ट खाका तयार नभएको र नयाँ संविधानको घोषणासँगै नागरिकमा सेवा प्रवाह र विकास निर्माणप्रति अपेक्षा र माग उच्च भइरहेको परिवेशमा करिव २ वर्ष काठ्माण्डौं जिल्लाको सहायक प्रजिअको रुपमा कार्य गरेको,
-बाढी, पहिरो, भूकम्प लगायतका अनेकौं विपद्ले ग्रस्त जाजरकोट जिल्लामा विभिन्न विपद्कै समयमा प्रमुख जिल्ला अधिकारी भइ कार्य गरेको र सायद जिल्लामा पहिलोपटक प्रत्येक पालिकामा स्थलगत रुपमा पुगी सार्वजनिक सुनुवाइ गरेको र हरेक पालिकामा नागरिकता लगायत आधारभूत सेवाहरु घुम्ती सेवा मार्फत जनताको घर आँगनमा पुर्याउन नेतृत्व गरेको,
– नेपालमा कोभिड: १९ सर्वप्रथम वीरगञ्ज, पर्साबाट भित्रिएको संवेदनशील समयमा पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति, संकट व्यवस्थापन समिति विपद् व्यवस्थापन समितिको सदस्य सचिव एवं पर्साको सहायक प्रमुख जिल्ला अधिकारी भई कार्य गरेको,
– नेपालमा कोभिडको दोस्रो लहर भित्रिएको र दोस्रो लहरको अवधिमा मुलुकभर अक्सिजन आपूर्ति असहज भएको समयमा ललितपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी भई अक्सिजन आपूर्ति सहज बनाउनेदेखि कोभिडको समयमा रातो मच्छिन्द्रनाथको रथजात्रा लगायत उपत्यकाका चाडपर्व व्यवस्थापन सम्बन्धि कार्यमा सहजिकरण गरेको,
– नेपालमा e-governance को आधारको रुपमा रहेको राष्ट्रिय परिचयपत्रमा रहने राष्ट्रिय परिचय नम्बरलाई राहदानी बनाउन अनिवार्य गरिएको र तत्पश्चात जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रको लागि देशभरी नागरिकको थाम्नै नसकिने भिड बढेको समयमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाको निर्देशक भई कार्य गरेको र राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्न देशब्यापी रुपमा विवरण संकलन अभियान चलाउनेदेखि विवरण संकलनलाइ सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको,
– कारागार कार्यालयहरुको संचालन व्यवस्थापनमा अनेकौं गुनासा आइरहेको परिवेशमा केन्द्रिय कारागार कार्यालय सुन्धाराको जेलर (कारागार प्रशासक) भई कार्य गरेको । सोहि समयमा गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग समेतको मार्गदर्शन र समन्वयमा कारागारको चौकिदारको नियुक्ति समेत प्रतिस्पर्धाको आधारमा गर्न शुरुवात गरिएको लगायत थुप्रै सुधार गरिएको,
– पछिल्लो २२ महिनादेखि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सूचना तथा जनसम्पर्क/कर्मचारी प्रशासन शाखा प्रमुखको रुपमा कार्य गरेको । विकासे मन्त्रालयमा बस्ने उपसचिवहरुले असम्बन्धित कार्यक्रममा पनि सहभागी हुन पटक पटक विदेश भ्रमण गर्छन् भन्ने आरोप लाग्ने गरेको परिवेशमा करिव २२ महिनाको मन्त्रालय बसाईमा वैदेशिक भ्रमणमा जाने त कुरै छोडौं २२ महिना मन्त्रालय बसाईमा देशभित्र पनि कँही कतै काजमा यात्रा/भ्रमण गरी १ दिनको TA/DA समेत नखाइएको ।
यी सबै वास्तवाकिताको वावजूत सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सर/मिसहरुको नजरमा कसरी सधैं सिंहदरवारमा रजगज गरेको देखिएछ र कमजोर स्वास्थ्य र पारिवारिक अवस्थाको बारेमा पटक पटक जानकारी गराउँदा समेत वेवास्था गरी कुन आधार र मापदण्ड अनुसार दुर्गम स्थानीय तहमा सरुवा गरिएछ ?
-अहिलेसम्म सरकारले जहाँ खटाउँछ, त्यहाँ खुशीसाथ जाने र आफ्नो बुद्धि, विवेक, योग्यता, क्षमताले भ्याएसम्म पूर्ण समर्पणको साथ काम गर्ने आफ्नो विगतलाई निरन्तरता दिंदै आजदेखि चामुण्डा विन्द्रासैनी नगरपालिकाको लागि रमाना भएको अवस्था । सबैमा विगतमा झैं सकारात्मक साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।
