काठमाडौं, २३ वैशाख ।
पूर्वराष्ट्रपति विद्या भण्डारी र नेता ईश्वर पोखरेलनिकट समूहले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी ओलीको सम्मानजनक बहिर्गमनलाई प्रमुख सर्त बनाएको भएपनि अहिलेसम्म वैधानिक प्रकृया शुरु भएको छैन । ओली स्वयंले पद छोडेर पुनर्गठनको प्रस्ताव अघि बढाउने संभावना नभएकाले विशेष महाधिवेशन नै बैधानिक प्रकृया भएकाले भण्डारी पक्षले यही प्रकृयामा जान खोजिरहेको छ । पदाधिकारी र केन्द्रीय कमिटीको बहुमतबाट उनलाई हटाउने पहिलो रणनीति तयार गरिएको भएपनि ओलीलाई हटाउन सहज नभएकाले देशव्यापी रुपमा कार्यकर्ताको दबाब सिर्जना गर्न थालिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अझै खुलेर दबाब सिर्जना गर्न सकिरहेका छैनन । जसले गर्दा ओलीलाई हटाउन अझै केही समय लाग्ने बताइएको छ ।
तीन सय सदस्यीय केन्द्रीय कमिटीमा एक दर्जनभन्दा बढीको अनुपस्थिति रहेका कारण उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई साथ लिएर नयाँ ध्रुवीकरणमार्फत बहुमत जुटाउने प्रयास भइरहेको छ । त्यसमा सफलता नपाए विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने वैकल्पिक रणनीति पनि तयार गरिएको छ । तर, भण्डारी पक्ष हाल सार्वजनिक रूपमा आक्रामक देखिएको छैन । संस्थागत र विधिसम्मत प्रक्रियामार्फत अघि बढ्ने रणनीति अपनाउँदै विशेष महाधिवेशनको हस्ताक्षर अभियानलाई पनि तत्कालका लागि रोकेको बताइएको छ ।
यसैबिच भण्डारी–पोखरेल समूहले आगामी पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा राजनीतिक परिस्थिति र पुनर्गठनको आवश्यकता समेटिएको अलग दस्ताबेज प्रस्तुत गर्ने तयारी गरिरहेको छ । केन्द्रीय कमिटीमा बहुमत जुटेमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको एजेन्डासमेत अघि बढाउने योजना रहेको स्रोतको भनाइ छ ।
