बुटवल, २८ वैशाख ।
नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै सोमबार रुद्रगण र एमआरआर टिमको संयुक्त आयोजनामा बुटवल बसपार्क क्षेत्रमा सरसफाई गरिएको छ । यसअघि लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा प्रभावशाली भूमिका निर्वाह गरेको छ।
कार्यक्रमलाई सहज, व्यवस्थित र सफल बनाउन रुद्र गणका सदस्यहरू भीड व्यवस्थापन, आगन्तुकलाई सहजीकरण तथा आवश्यक समन्वयमा निरन्तर खटिएका थिए। ठूलो संख्यामा सहभागीको उपस्थितिका बाबजुद पनि कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक टोलीको भूमिका महत्वपूर्ण रहेको थियो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस अवसरमा रुद्र गणको सक्रिय सहभागिताले सेवाभाव, अनुशासन र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए। सोमबारको सरसफाई अभियानमा पनि यसरी नै सहभागिता जनाएको आयोजकले उल्लेख गरेका छन् ।


