काठमाडौं, १५ जेठ । एमाले महासचिव शङ्कर पोखरेलले सरकारले आत्मनिर्भर अर्थतन्त्र कमजोर बनाएर परनिर्भरतालाई वलियो बनाउनेगरी बजेट ल्याएको टिप्पणी गरेका छन ।
बजेटप्रती प्रारम्भिक टिप्पणी सार्बजनिक गर्दै पोखरेलले भनेका छन :
सुनिने बजेट र देखिने बजेट
वालेन सरकारको बजेट भाषणमा “विकास” र “समृद्धि”का ठूला कुरा धेरै सुनिए,
तर बजेटको प्राथमिकता हेर्दा वास्तविकता निकै फरक देखियो।
विकास आयोजनाहरू विगतभन्दा कम प्राथमिकतामा परे।
साधारण खर्च कटौतीको कुरा गरियो यथार्थतामा वृद्धि गरियो ।
“जेन्जी विद्रोह”को जगमा बनेको भनिएको सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेटसमेत कटौती गर्यो।
विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने वाचा गर्ने सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट पनि घटायो।
कृषि र वन मन्त्रालयको बजेट कटौतीले सरकारको प्राथमिकता उत्पादन वृद्धि र आत्मनिर्भरता होइन, रेमिटेन्स आधारित अर्थतन्त्र नै हो भन्ने सन्देश दिएको छ।
भाषणमा नारा र सपना धेरै सुनिए,
तर बजेटले उत्पादन, रोजगारी र युवालाई प्रोत्साहन भन्दा परनिर्भरतालाई बढी प्राथमिकता दिएको देखियो।
करका दरको निर्धारण र राजस्वको लक्षका बीचमा कुनै संगति र सन्तुलन समेत देखिएन ।
बजेटले यथार्थतालाई स्विकार्न सकेन ।
भदौ २३ र २४ को विध्वंसका कारणले उत्पन्न असुरक्षा र भयलाई सम्वोधन गर्नुपर्ने वेलामा शान्तिसुरक्षाको प्रत्याभूती दिने वेलामा गृहमन्त्रालयको कटौती गरियो ।
शान्तिसुरक्षाको अभावमा न लगानी प्रवर्धन हुन्छ नत रोजगारी सिर्जना नै हुन्छ ।
तर पनि बजेट भाषणमा सुनिएजस्तै परिणाम पनि त्यस्तै आएको भए कति जाति हुन्थ्यो !!
