काठमाडौं, २६ जेठ ।
देशको सार्वभौमिकतामाथि प्रश्न उठ्नेगरी संविधान उल्लंघन गरेर प्रधानमन्त्री बालेन्द्र शाहले विवादस्पद अभिव्यक्ति दिएको भन्दै सदन अबरोध गर्दै आएका विपक्षी दलहरु थप मोर्चाबन्दीका लागि अग्रशर भएका छन् ।
मागको सुनुवाई नगरी सभामुख डिपी अर्यालले जर्बजस्ती सदन चलाउन खोजेको आरोप लगाउँदै उनीहरुले उनीमाथि सांकेतिक व्यंग्य गर्दै प्रमुख विपक्षी कांग्रेसकै नेतृत्वमा दलहरुले शहिदलाई सम्झिएर मंगलवारको प्रतिनिधिसभा बैठकमा ५ मिनेट मौन धारण गरेका थिए ।
त्यसपछि पनि प्रधानमन्त्री सदनमा उपस्थित भएर माफी माग्नुपर्ने मागबारे कुने जवाफ नआएपछि विपक्षी दलहरुले सदन अबरोध जारी राखे । अबरोधकै बीचमा सभामुख अर्यालले सदन स्थगित गरे ।
त्यसलगत्तै विपक्षी दलहरु थप रणनीति तय गर्न सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सर्बदलीय बैठक बसिरहेका छन् ।
बैठकमा प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जनाएका छन् ।
आजै विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।
