काठमाडौं, असोज १० । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे नेपाली सेनाको भूमिकालाई लिएर विभिन्न प्रश्न उठिरहेका छन् । सेना समयमा परिचालन हुने सकेन भन्ने प्रश्न उठिरहेको बेला त्यसविषय कुनै पनि सवाल जवाफ हुन सकिरहेको छैन ।
सेनाले नियमित रुपमा गर्दै आएको पृतनापति सम्मेलन पनि सिध्याएको छ । वस्तुपस्थिति र पछिल्लो राजनीतिक संक्रमणबारे जानकार रहेको सेनाले पृतनापति सम्मेलन मार्फत शान्ति सुरक्षामा आँच र सुरक्षाकर्मीहरु मनोबलबारे पनि जानकारी लिएको छ ।
यसै सन्दर्भमा प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका छन् । पछिल्लो समय देखिएको घटनाक्रम र समसामयिक परिस्थितिको सम्बन्धमा पूर्वप्रधानसेनापतिहरूसँग सिग्देलले छलफल गरेका हुन् ।
जंगी अड्डामा भएको छलफलमा अहिलेको परिस्थितिको विश्लेषण गर्दै यस्तो अवस्थामा नेपाली सेनाको भूमिकाका बारेमा सिग्लेले पूर्वप्रमुखहरूसँग राय लिएको स्रोतको दावी छ । यद्यपि फूलपाती बढाइए अघि पूर्व प्रधानसेनापतिहरुसँग सेनाले कटेसी बैठक गर्दै आएको छ ।
यसैगरी बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू पनि जंगी अड्डामा जुटेका थिए । पृतनापतिहरूसँग पनि भर्चुअल रुपमा पृतनापति समन्वयात्मक बैठक सञ्चालन भएको थियो ।
उक्त बैठकमा विभागीय प्रमुख लगायत पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
प्रधान सेनापति सिग्देल र बलाध्यक्ष रथी प्रदीप जङ्ग केसीले समापन मन्तव्य राखेका छन् । नेपाली सेनाको वार्षिक कार्य तालिका अनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ ।
