काठमाडौं, असोज २५
काठमाडौँको मुटुमा अवस्थित असन बजार अझै पनि पुरानो गन्ध, स्वर र जीवन्ततालाई बोकेको छ। यहाँ गुन्द्रुकको गन्ध, धूपको सुगन्ध र मान्छेहरूको भीड एकैसाथ मिसिन्छ। तर अहिलेको असन पहिलाको जस्तो मात्र छैन।
यहाँ फापरको पिठो छेउमै ल्याक्टोजिन पाइन्छ, धूपसँगै परफ्यूम, र डल्ला साबुनसँगै आधुनिक स्याम्पु। समय बदलिँदै गएको छ, तर असनको आत्मा अझै त्यहीँ छ—व्यापार, संस्कृति र सह जीवनको सङ्गममा।
भोटाहिटीबाट इन्द्रचोकसम्म फैलिएको करिब २५० मिटरको गल्ली। सडक साँघुरो छ, तर यहाँको जीवन फराकिलो। बिहान सबेरै बाटोमा पसल सजाउँदै गरेका व्यापारीहरू देखिन्छन्। कसैले चना राख्दै छन्, कसैले मसला मिलाउँदै। कतै तरकारीको बोरा फाल्दै गरेका महिलाहरू, कतै हातमा सुनका हार लिएर पसल खोल्दै गरेका सुनचाँदीका व्यवसायी।
असन केवल बजार होइन, यो काठमाडौँको जीवित सङ्ग्रहालय हो। यहाँको प्रत्येक गल्ली, ढोका र टोलमा कुनै न कुनै इतिहास बसिरहेको छ। पुराना घरका झ्यालहरूबाट झर्ने घाम र गल्लीमा पसिएका मानिसहरूको हल्ला मिसिँदा यो ठाउँले काठमाडौँको पहिचान सुनाउँछ।
‘हामी साना हुँदा बुबा हामीलाई यही ल्याउनुहुन्थ्यो। यहाँ किनमेल गर्न आएपछि धेरै तिर धाउनुपर्दैन,’ सुन्दरी जलबाट किनमेल गर्न आएका ६२ वर्षीय सभु सिंह पुरानो असन सम्झँदै भन्छन्, ‘कपडा इन्द्रचोकमा, गेडागुडी असनमा, ताजा सागपातदेखि सुकुटीसम्म सब यही भेटिन्छ।”
उनका अनुसार, असन कुनै साधारण बजार होइन। उनी यसलाई पुरानो समयको डिपार्टमेन्ट स्टोरको संज्ञा दिन्छन्। जहाँ पसलहरू काठे घरमा छन्, तर वस्तुहरूको विविधता आधुनिक मलभन्दा कम छैन।
असनको इतिहास कुनै आधुनिक अवधारणासँग सुरु भएको होइन। असन सेवा समितिका पूर्वप्रमुख अमुलकाजी तुलाधरका अनुसार, यो क्षेत्र मल्लकालदेखि नै प्रमुख व्यापारिक केन्द्र थियो।
‘असन मल्लकालको आर्थिक राजधानी हो। यहाँ व्यापार, संस्कार र समुदाय एकसाथ बढेका छन्,’उनी भन्छन्।तुलाधरका अनुसार, हरेक चोकको आफ्नै विशेषता थियो। असन खाद्यान्नको लागि, इन्द्रचोक कपडाको लागि, वालकुमारी फलामका लागि, न्ह्याकामा सुनका लागि, बागेमुढा रङ–रोगनका लागि, र केलटोल ढाकाका कपडाका लागि प्रसिद्ध।
त्यो समय नेपाल भारत र तिब्बतबिचको व्यापारिक नाका पनि यही वरिपरि थियो। व्यापारीहरूले यहीँबाट नुन, ऊन, मसला, धातु र कपडा साटासाट गर्थे। त्यसैले त अहिले पनि असनलाई‘नुनदेखि सुनसम्मको बजार’ भनिन्छ।
पुर्ख्यौली पसल र पुस्ता बदलिँदै
२३ वर्षीय मनोज श्रेष्ठ मसला पसल चलाउँछन्। उनी आफ्नो तेस्रो पुस्ताका व्यापारी हुन्। ‘हाम्रो बाजेले यो पसल मल्लकालको अन्त्यतिर सुरु गर्नुभएको हो। बुबाले निरन्तरता दिनुभयो। अहिले मेरो पालो आएको छ,’ उनी भन्छन्।उनका अनुसार, असन केवल किनमेलको ठाउँ होइन, यो संस्कृतिको प्रतीक हो।
मनोजले आधुनिक सपिङ मलहरू पनि हेरेका छन्, तर उनी भन्छन्,
‘त्यो मलमा सामान पाइन्छ, तर आत्मा हुँदैन। असनमा दुवै छन्, सामान र सम्बन्ध।”
पुरानो डिपार्टमेन्ट स्टोरको नेपाली रूप
यहाँका गल्लीहरू वस्तु अनुसार विभाजित छन्। कुनै गल्ली मसला पसलले भरिएको छ, अर्कोमा चाँदीका गहनाहरू, अर्कोमा कपडा। यो विभाजन नै असनको नेपाली ढङ्गको डिपार्टमेन्ट स्टल हो ।
भूकम्पपछि असनको रूपान्तरण
२०७२ सालको भूकम्पले असनको स्वरूप बदलिदियो। धेरै घरहरू भत्किए, कतिपय टेकोको भरमा अझै उभिएका छन्। केही पुराना घर पुनर्निर्माण भए—तर आधुनिक डिजाइनमा।
मसला पसल चलाउने मनोज भन्छन्, ‘पहिले सबै काठका घर थिए, अहिले त धेरैले सिमेन्टका बनाइसके। पुरानो सौन्दर्य घट्दैछ।’तर परिवर्तन केवल संरचनामा छैन, सामानमा पनि छ।
‘पहिले फापरको पिठो, नुन र गुन्द्रुक मात्रै बेचिन्थ्यो,’ उनी भन्छन्, “अहिले ल्याक्टोजिन, परफ्यूम, स्याम्पु, साबुन सबै छेउमै पाइन्छ।’
असन अहिले परम्परा र आधुनिकताको मिश्रण बनेको छ—फापरको पिठोसँगै ल्याक्टोजिन, धूपसँगै परफ्यूम, डल्ला साबुनसँगै स्याम्पु।
सांस्कृतिक बजारको स्पन्दन
असनमा किनमेल मात्र हुँदैन, यहाँ संस्कृति बाँचिरहेको छ। बिहान देवीदेवताको पूजा, दिउँसो व्यापारीहरूको आवाज, बेलुकी बत्तीको झिलमिल—असन २४ घण्टा जीवित बजार हो।
दसैँ–तिहारमा यहाँ उभिनै गाह्रो हुन्छ। चाना, साग, सुन, कपडा—सबै बिक्री हुन्छ। यो चहलपहल नै असनको पहिचान हो।
त्यस्तै, असनमा हुने जत्रा र पर्वहरू अझै पुरानै परम्परामा हुन्छन्। इन्द्रजात्रा, असन जात्रा, र गणेश पूजा बेला यहाँका गल्लीमा रङ्ग, बत्ती र बाजागाजाको सङ्गम हुन्छ।
असनमा अहिले “डिजिटल ग्राहक” पनि देखा परेका छन् र जो अनलाइन हेरेर आउँछन्। केही पसलहरूले मोबाइल पेमेन्ट क्वीआर प्रणाली पनि सुरु गरिसकेका छन्।
तर यस्तो प्रविधि आए पनि, पुरानो असनको आत्मा अझै हराएको छैन। बिहानको गुन्द्रुकको गन्ध, बेलुकीको मसला र धूपको सुवास, र बिचमा गुन्जिने ठट्टा—यी सबैले असनलाई जिउँदो बनाइरहेका छन्।
तर सबै कुरा रमाइलो छैन। पछिल्ला वर्षहरूमा असन बजारमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। गल्ली साँघुरा छन्, तर मोटरसाइकल, साइकल, र ठेला गाडा सबै त्यही बाटो प्रयोग गर्छन्।
काठमाडौँ महानगरले केही पटक सुधार योजना ल्याएको भए पनि, कार्यान्वयनमा ढिलाइ भएको स्थानीयहरूको गुनासो छ।
पर्यटकहरूको नयाँ आकर्षण
असन अहिले केवल किनमेलको होइन, पर्यटनको पनि केन्द्र बनेको छ। यहाँ विदेशी पर्यटकहरू स्थानीय जीवन हेर्न आउँछन् बजारको स्वर, पुराना घर, र मान्छेहरूको हाउभाउ उनीहरूका लागि नयाँ अनुभव हो ।
सवारी, भीड, र आधुनिकताको दौडबिच पनि असन अझै जिउँदो छ। यहाँ पुरानो र नयाँबिचको संवाद निरन्तर चलिरहेको छ।
‘असन बदलिँदै छ, तर मर्ने छैन, अमुलकाजी तुलाधर अन्त्यमा भन्छन्, ‘यो काठमाडौँको मुटु हो, धड्कन घटे पनि रोकिँदैन।’
