घनबहादुर थापा
नेपाल राजनीतिक रूपमा आफ्ना स्वतन्त्र विचार राख्न पाउने देश हो । बहु-धार्मिक, बहु-सांस्कृतिक पहिचान भएको राष्ट्र हो । तर कलाकार वा सार्वजनिक जीवन भएका व्यक्तिहरूले आफ्नो विचार व्यक्त गरेकै भरमा, कुनै राजनीतिक दलप्रति लक्षित गरी आफ्नो स्वतन्त्र विचार व्यक्त गरेकै भरमा त्यसप्रति असहमती राख्ने पक्षबाट गालीगलौजसहितमा कमेन्ट सामाजिक सञ्जालमा बग्रेल्ती आउँने गरेको देखिन्छ । राजनीतिक स्वतन्त्रता, धार्मिक आस्था, संस्कार र पहिचान व्यक्तिको आफ्नो विचार र आस्थामाथि आघात पुर्याउने अभिव्यक्ति चाहे सामाजिक सञ्जालबाट होस् वा प्रत्यक्ष भेटघाटबाट होस् कदापि स्वीकार्य हुन सक्दैन ।
अहिले नेपाली राजनीतिमा गालीगलौजको संस्कृति मौलाएको छ । आफ्नो दलमा हुँदा त्यही मान्छे अब्बल, शिष्ट र सभ्य नेतामा दर्ज हुन्छ । तर एउटा दल त्याग गरी अर्को दलमा गएपछि ऊ जतिको नालायक कोही नभए जस्तो गालीगलौज सुरु भइहाल्छ । एक अर्काप्रति हिलो छ्यापाछ्यापको स्थिति देखा पर्छ । यस्तो समस्या पुराना दल र अहिले नयाँ भनिएका दलहरूमा पनि देखिएको छ । हाँस उठ्दो कुरा त के छ भने १२ दिनमै एकताको सहमती तोडिँदा समेत यस्तो अवस्था देखियो, जुन अचम्म लाग्दो र हाँस्यास्पद लाग्छ ।
उदाहरणको लागि भर्खरै नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेसन आव्हान पक्षबिच यही विचित्रको अवस्था देखियो । केही समयअघि मात्र नङ र मासुको सम्बन्ध रहेका एउटै दलमा आवद्ध नेता कार्यकर्ताहरू आन्तरिक विमती भएकै कारण एकअर्कामा तुच्छ शब्द प्रहार गर्दै गालीगलौजमा उत्रिएका छन् । आफैले आफैलाई प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेसमा विभाजन गरी एकअर्काविरूद्ध नाराबाजीमा उत्रिएका छन् । आज निर्वाचन आयोग अगाडि आ-आफ्नो पक्ष र अर्को पक्षविरूद्धमा चर्को नाराबाजी समेत गरिएको छ । यो अवस्था पूर्वको मिलाप देख्ने महसुस गर्ने जो कोहीले पनि प्रश्न गर्न सक्छ, ‘एउटै सिद्धान्त र आस्थाका साथ हातमा हात, साथमा साथ मिलाएर एउटै लक्ष्य र उद्देश्य हासिल गर्न खातिर हिँडेका शक्तिहरूबिच यस्तो हुनुपर्ने हो र ?’
यस्ता अराजक कर्मले हाम्रो राजनीतिक संस्कार, राजनीतिकर्मीको प्रतिष्ठा एवम् अनुशासनलाई प्रस्ट्याउँछ । नेता कार्यकर्ता त भइहाले आफ्नो ‘बिष्ट’ प्यारो अर्काको दालभात नै आची ! तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पनि सभ्यता, संस्कार, आचरण राम्रो देखिने अभ्यास नेपालको सन्दर्भमा विरलै पाइन्छ । उनीहरू पनि त्यही दलीय अन्धभक्त संस्कृति र संस्कारमा उम्रिएको बिउ जस्ता लाग्छन् । यसले के देखाउँछ भने सामाजिक सञ्जालमा पोष्ट गरिने नकारात्मक विचार, गालीगलौज, बेइज्जतीउन्मुख तर्क/वितर्क समाजमा अराजकता सिर्जना गर्ने व्यक्तिगत मानमर्दन गर्ने प्रवृतिका पोस्ट तथा कमेन्टहरू आउँछन् । ती मध्ये अधिकांशका क्रियसन कुनै न कुनै आवरणमा अबाञ्छित तत्वबाट अभिप्रेरित र परिचालित छन् भन्न सकिन्छ ।
नेपाल राजनीतिक रूपमा आफ्ना स्वतन्त्र विचार राख्न पाउने देश हो । बहु-धार्मिक, बहु-सांस्कृतिक पहिचान भएको राष्ट्र हो । तर कलाकार वा सार्वजनिक जीवन भएका व्यक्तिहरूले आफ्नो विचार व्यक्त गरेकै भरमा, कुनै राजनीतिक दलप्रति लक्षित गरी आफ्नो स्वतन्त्र विचार व्यक्त गरेकै भरमा त्यसप्रति असहमती राख्ने पक्षबाट गालीगलौजसहितमा कमेन्ट सामाजिक सञ्जालमा बग्रेल्ती आउँने गरेको देखिन्छ । राजनीतिक स्वतन्त्रता, धार्मिक आस्था, संस्कार र पहिचान व्यक्तिको आफ्नो विचार र आस्थामाथि आघात पुर्याउने अभिव्यक्ति चाहे सामाजिक सञ्जालबाट होस् वा प्रत्यक्ष भेटघाटबाट होस् कदापि स्वीकार्य हुन सक्दैन । राजनीतिक प्रतिशोध साध्ने नाममा न्यायिक नजिरविपरीत, स्वतन्त्र रूपमा आफ्नो अभिव्यक्ति दिन पाउने अधिकारविपरीत गालीगलौजमा उत्रिनु किमार्थ राम्रो होइन । जबसम्म आफूले राम्रो काम गरेर होइन अरुलाई खुइल्याएर असल बन्ने धृष्टता नेपाली राजनीतिमा रहन्छ तबसम्म यो गालीगलौज प्रवृत्ति सकिने अवस्था देखिँदैन ।
नेपालको सामाजिक सञ्जाल प्रयोग बढेसँगै केही नकारात्मक प्रवृत्ति र विकृति देखिनु राम्रो सन्देश होइन । विशेषगरी गालीगलौज र असभ्य व्यवहार गरिएका स्टाटस, कमेन्ट आउनु समाजका लगि हानिकारक हो, मुख्य समस्या हो । फरक विचार राख्ने व्यक्तिलाई मर्यादाहीन शब्द प्रयोग गरेर आक्रमण गर्नु, राजनीतिक विचारका आधारमा गालीगलौज गर्नु, चरित्रहत्या गर्नु, साइबर बुलिइङ गरी व्यक्तिलाई बारम्बार मानसिक दबाब दिनु निसन्देह गम्भीर कुरा हो । यस्ता काममा फेक आइडी अर्थात् नक्कली नाम र तस्बिर प्रयोग गरेर गालीगलौज गर्ने र जिम्मेवारी नलिई अरूलाई उक्साउने काम भएको देखिन्छ । यसरी अफवाह र भ्रामक सूचना फैलाएर तनाव बढाउने पोस्ट गर्दै दुर्व्यवहार गरी मानसिक तनाब दिने काम किमार्थ राम्रो होइन । व्यक्तिमा कानुनी सचेतनाको कमी हुनु र हाम्रो शक्ति छ, जे गरे पनि हुन्छ भन्ने गलत सोचाइले पनि यस्ता काम र गलत भूमिका आएको हुन सक्छ ।
नेपालमा कानुन छ । संविधान छ । कार्यान्वयन गर्ने निकायहरू छन् । यस्ता काम गर्नेलाई विद्युतीय कारोवार ऐनअनुसार जेल, जरिवाना वा दुवै सजाय हुन सक्छ । तर उजुरीबिना अपराधीलाई कारबाहीको दायरामा ल्याउने अभ्यास देखिँदैन । उजुरी परेपछि पनि उजुरीको चाप अत्यधिक छ । छानबिन र अनुसन्धान गर्ने जनशक्ति न्यून छ । साधन स्रोत र कानुनी अड्चन उत्तिकै झन्झटिला र समय लाग्ने खालका छन् । कुनै सामाजिक सञ्जाल नेपालमा दर्ता र सम्पर्क कार्यालय नहुँदा प्रमाण जुटाउनका लागि पत्राचार गर्न निकै समय लाग्ने गर्छ । यसले कानुन कार्यान्वयनमा अड्चन थप्ने गरेको छ ।
सङ्क्षेपमा, सामाजिक सञ्जालका राम्रा पक्ष पनि छन् । तिनको सदुपयोग गर्न सक्नुपर्छ । गालीगलौजको प्रवृतिलाई घटाउन जनस्तरमा डिजिटल साक्षरता बढाउनुपर्छ । सभ्य र शिष्ट भाषा प्रयोग गर्ने संस्कारको विकास गर्नुपर्छ । आज मैले कसैलाई गाली गरेँ भने भोलि अरू कसैले मलाई पनि गाली गर्न सक्छ भन्ने भावनाको विकास गर्नुपर्छ । नकारात्मक गतिविधि भइहालेमा यस्ता प्रवृत्तिविरूद्ध सम्बन्धित निकायमा उजुरी दिने र कानुनको कडाइकासाथ कार्यान्वयन गराउन पहल गर्नुपर्छ । सम्भव भएसम्म त्यस्ता व्यक्तिहरूलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्छ । हामी आफैले पनि गालीको जवाफ गालीले नदिने भावनाको विकास गर्नुपर्छ । कसैले गलत गरेको देख्दा चुप नलाग्ने र यस्ता प्रवृत्ति दोहोरिएमा कानुनी उपचार खोज्नुपर्छ । सही कुरा सभ्य रूपमा भन्ने बानी बसाल्यौं भने समाजबिपरीत बोल्ने, राजनीति र सामाजिक रूपमा उठ्ने विकृति फैलाउने अवस्थामा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।
साहित्यकार घन थापालाई ‘अफरोड स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
