ललितपुर, १८ असोज ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडानम्बर ९ लामाटार ठकुरीगाउँस्थित ग्रेस फाउन्डेसन महिला पुनरस्थापना केन्द्रका लागु औषध तथा विभिन्न दूरव्यवसनबाट प्रभावितलाई मनोपरामर्श दिइएको छ ।
वीटीआई व्यावसायिक ग्रुपअन्तर्गतको कल्प फाउन्डेसनको आयोजनामा आइतबार बरिष्ठ मनोपरामर्शदाता निर्मला बस्नेतले मनोपरामर्श दिएकी हुन ।
उनले यहाँका ११७ जना किशोरी र महिलालाई कुलतबाट छुटाउन बेलाबेला आएर आफूले मनोपरामर्श दिने बताइन । ग्रेस फाउन्डेसनमा १३, १४ र १६ वर्षका धेरै किशोरीको उपचारका लागि पुगेका छन् । त्यहाँ केही मध्यम उमेरका महिला पनि रहेका छन् ।

सो अवसरमा राष्टिय महिला आयोगका सीता अधिकारीले लागु औषध तथा विभिन्न दूरव्यवसनबाट प्रभावितका लागि महिला आयोग र विभिन्न सरकारी निकायबाट गर्न सकिने सहयोगका लागि आफूले पहल गर्ने बताइन ।
वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले लागु औषध तथा विभिन्न दूरव्यवसनबाट प्रभावितलाई कुलतबाट मुक्त गराउन हौसला दिने गरेर आफूहरुले थप कार्यक्रम ल्याउने प्रतिबद्धता पनि जनाए ।

वीटीआई ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिलीपराज बरालले औषध तथा विभिन्न दूरव्यवसनबाट प्रभावितले आफूलाई आफैलाई बलियो बनाएर दूरव्यसनबाट छुटकारा पाउने गरेर सक्रिय हुनु पर्ने बताए ।
ग्रेस फाउन्डेसन महिला पुनरस्थापना केन्द्रकी कार्यक्रम संयोजक जुनुराज भण्डारीले १३ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले करिब १० हजार किशोरी तथा महिलाको उपचार गरेको बताउदै सरकारी क्षेत्रको सहयोग नपाएको गुनासो गरिन ।
ग्रेस फाउन्डेसनमा व्यवहारको समस्या भएका र मदिरा धेरै खानेहरु बढी रहेको उनले जानकारी दिइन । अस्टेलिया, अमेरिका लगायतका देशबाट आउने नेपाली युवती भने लागु औषध सेवनकर्ता रहेको पनि उनले बताइन ।
उनका अनुसार ग्रेस फाउन्डेसनमै बसेर केही किशोरीले कक्षा ८, ९, १० ,११, १२ र स्नातक तहको अध्ययन गरिरहेका छन् । भने सो फाउन्डेसनबाट फर्केकामध्ये ३० प्रतिशत जति पूर्णरुपमा स्वस्थ भएको पाइएको दावी पनि उनले गरिन ।
दूरव्यवसनबाट प्रभावितलाई ग्रेस फाउन्डेसनमा ल्याउन जाँदा भने प्रभावितले कुट्ने, गालीबेज्जत गर्ने, लुगा खोल्ने जस्ता क्रियाक्लापले निक्कै कठिनाई भोगेको समेत कार्यक्रम संयोजक भण्डारीले सुनाइन ।

