अस्ट्रेलिया,२१ कात्तिक । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले नेपाली समुदायले अस्ट्रेलियामा पुर्याइरहेको योगदान र उनीहरूको सांस्कृतिक विविधताको प्रशंसा गरेका छन् । एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको नेपाल महोत्सवमा पहिलो पटक सहभागी भएका प्रधानमन्त्री अल्बनिजले नेपालीले अस्ट्रेलियामा पुर्याएको योगदानको प्रशंसा गरेका हुन् । कार्यक्रममा उनलाई नेपाली ढाकाटोपी र नेपाली खादा लगाएर स्वागत गरिएको थियो । उत्साहित र हर्षित मुद्रामा कार्यक्रममा उपस्थित उनले अस्ट्रेलिया बहुसांस्कृतिक देश भएको र नेपालीले अस्ट्रेलियाको समग्र विकासका लागि महत्त्वपूर्ण योगदान दिएको बताएका थिए । एनआरएनए अस्ट्रेलियाले विगत दुई दशकदेखि नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल महोत्सव आयोजना गर्दै आएको छ । उक्त महोत्सवमा पहिलो पटक सहभागी प्रधानमन्त्री अल्बनिजले कार्यक्रममा सहभागी सबैलाई तिहारको शुभकामना दिएका थिए ।

उनले मन्तव्यका क्रममा बहादुरीका साथ कर्तव्य निर्वाह गरेर हालै सम्मान पाएका नेपाली सुरक्षाकर्मी विकास भारतीको पनि चर्चा गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री अल्बनिजले नेपालमा गत अगस्टमा आएको बाढीपहिरोबाट ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै त्यसको पुनर्निर्माण र राहतका लागि आफ्नो साथ रहेको जनाएका थिए ।

नेपाली समुदायले आयोजना गरेको कुनै पनि कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्रीले स्वयं सहभागिता जनाएको यो पहिलो पटक हो । प्रधानमन्त्री अल्बनिजले कार्यक्रमलगत्तै आफ्नो सामाजिक सञ्जालमार्फत आफूले नेपाली समुदायसँग तिहार मनाएको उल्लेख गरेका छन् । कार्यक्रममा न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले पनि सहभागिता जनाउँदै नेपाली कला, संस्कृतिको प्रशंसा गरे ।
एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको नेपाल महोत्सव शनिबार सिड्नीको पर्यटकीय क्षेत्र डार्लिङ हार्बरमा आयोजना गरिएको थियो । कार्यक्रममा हजारौंको सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवको सुरुवातमा नेपाली परम्परा भेषभूषा र संस्कृति झल्काउँदै नेपाल परेडको आयोजना गरिएको थियो भने महोत्सवमा नेपाली खाना, व्यवसाय लगायतका स्टल राखिएको थियो । कार्यक्रममा नेपाली मात्र नभएर स्थानीय समुदायका व्यक्तिको पनि उल्लेख्य उपस्थिति थियो ।
एनआरएनए अस्ट्रेलियाले हरेक दुई वर्षमा नेपालको कला, संस्कृति, पर्यटन लगायतको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ ।
यस वर्ष पनि अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाल महोत्सवको आयोजना भइरहेको छ । यद्यपि यस वर्षको नेपाल महोत्सवमा अस्ट्रेलियाका प्रधानमन्त्री र न्यु साउथ वेल्स राज्यका प्रिमियरको उपस्थितिले अझ रौनक थपेको थियो भने दोस्रो पुस्ताका नेपालीहरूको उल्लेख्य उपस्थितिले समेत महोत्सवलाई अझ रोचक बनाएको थियो ।

