काठमाडौं । गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो ।
संसदको दोस्रो ठूलो दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी सरकारमा गयो ।
एमाले विभाजका बेला माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा गए ।
नेकपामा भएको अन्तरसंघर्षमा साथ दिएका कतिपयले अन्तिम समयमा नेपाललाई साथ दिएनन् तर ओलीका खास भनिएका प्रेम आले, किसन श्रेष्ठ लगायतले साथ दिँदा नेकपा एकीकृत दल बन्न सकेको थियो ।
एकीकृत समाजवादी गठन भएको करिब ७ महिनामा एकीकृत समाजवादीले स्थानीय चुनावमा प्रतिस्पर्धा गर्यो । पाँच दलीय सत्ता गठबन्धन गरेर मैदानमा उत्रिएको समाजवादीले त्यति राम्रो सफलता हात पार्न नसकेको स्वयं उक्त दलका अध्यक्ष नेपालले स्वीकार गरिसकेका छन् ।
उनले आफ्नो दलको कमजोर प्रदर्शनमा गठबन्धनका दलहरु इमान्दार नभएको र आफूहरुलाई अपमान गर्न खोजिएको बताउँदै आएका छन् । सम्मानित नेता झलनाथ खनालले त बारम्बार गठबन्धनले अपमान गरेको र इमान्दार नभएको भन्दै चर्को आलोचना गर्ने गरेका छन् ।
खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको टिप्पणी गर्दै बुधबार भनेका थिए,‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौं, नौ होइन, २० लाखभन्दा बढी मत छ हाम्रो । त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौं । यसमा हाम्रा पनि केही त्रुटि कमजोरी रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान गर्यो । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौं । त्यति सिट पनि प्राप्त गर्न सकेनौं । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।'
सत्ताले संकट
नयाँ पार्टी एकीकृत समाजवादी सत्ताका कारण केही दिन यता समस्यामा रुमलिएको छ । जसको दोष उसले प्रधानमन्त्री शेरबहादुर देउवालाई लगाइरहेको छ ।
पार्टी बिभाजनपछि एकीकृत समाजवादीले ६ महिनाका लागि भन्दै मन्त्री पठाएको शीर्ष नेताहरुले बताइरहेका छन् । ६ महिना कटेपछि नै यसअघि मन्त्रीको सूचीमा रहेर पनि बन्न नपाएकासहितले नेतृत्वमाथि दबाब बढायो ।
जसका कारण संसदमा बजेट पेस भएको केही दिन पछिनै एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्दै निर्णय गर्यो ।
मन्त्री बन्नेको सूचीमा रहेकाहरु शपथका लागि तयारीमा जुटे तर निर्णय कार्यान्वय हुन सकिरहेको छैन । जसको दोष एकीकृत समाजवादीले प्रधानमन्त्रीमाथि लगाइरहेको छ ।
२२ जेठमा एकीकृत समाजवादीको सचिवालयल गरेको निर्णय २० दिन हुनै लाग्दासमेत कार्यान्वयन नभएपछि उक्त दलले प्रधानमन्त्री देउवामाथि दबाब बढाएको छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बहीबार मध्याह्न तिरै केही घण्टामा नयाँ मन्त्री बन्ने दाबी गरेका थिए ।
‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उनले भनेका थिए ।लतर, रातिसम्म यसबारे केही जानकारी बालुवाटारबाट आएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।
पार्टी बैठकले गरेको विषयलाई अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट कार्यान्वयन गराउन नसकेको भन्दै बुधबारदेखि बसेको सचिवालय बैठकमा नेताहरुले आलोचना गरिरहेका छन् ।
सम्मानित नेता खनालले त प्रधानमन्त्री देउवाले आफूहरुलाई अपमान गरेको भन्दै टिप्पणी गरेका छन् ।
गठबन्धनको बैठकमा अध्यक्ष नेपालले मन्त्रीको हेरफेरबारे पार्टीले निर्णय कार्यान्वयन गराउन जोड गरिरहेका छन् तर प्रधानमन्त्री देउवाले त्यसलाई वेवास्ता गरिरहेका छन् ।
देउवा बजेट दुवै सदनबाट पास भएपछि मात्र मन्त्री हेरफेर गर्ने पक्षमा छन् ।
अहिले एकीकृत समाजवादीका मन्त्री फेर्दा आफ्नो दलमा झेल्न पर्ने दबाब र माओवादी केन्द्रमा पनि यसबारे पर्ने प्रभाव बारे उनी र प्रचण्ड सतर्क देखिएका छन् ।
त्यसोत सरकारमा रहेका एकीकृत समाजवादीका नेताहरु तत्काल सत्ताबाट बाहिरिने पक्षमा छैनन् । बिहीबारमात्र अध्यक्ष नेपालको निवास कोटोश्वरमा झाँक्री, प्रेम आले लगायतले असन्तुष्टि पोखेका थिए । त्यसक्रममा उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।
कमजोर खेल
नेकपा एमालेका शक्तिशाली महासचिव १ दशक भन्दा लामो समय चलाएका माधव नेपाल समकालीन नेपाली राजनीतिका शीर्ष नेताको अग्रस्थानमा आउँछन् ।
२०४६ सालपछिको राजनीतिक हरेक गतिविधिमा नेतृत्वदायी भूमिका निभाउँदै आएका नेपालको नेतृत्व भने कमजोर मानिने गरेको छ । तत्कालीन समयमा एमालेको नेतृत्व गरेका उनीमाथि निर्णय क्षमता कमजोर भएको नेताको ट्याग लागेको थियो ।
राजाले शासन हातमा लिएपछि प्रतिगमन आधा सच्चियो भनेर सरकारमा जाने वा अन्य विषयमा पनि उनले निर्णय गर्न नसकेको र सबैको कुरा सुनेर वहकिने नेताको उपमा पाएका थिए ।
हरेक निर्णय गर्दा वा अन्तिम घडीमा मझधारमा उभिँदा पार्टी कमजोर भएको भन्दै उनको आलोचना हुने गरेको थियो ।
जसका कारण हकी स्वभावका र गरेको निर्णयमा कडा रुपमा उभिने ओली विकल्प बनेर निस्किए र नेपाललाई नै अध्यक्षमा पराजित गरे ।
त्यसैले कतिपयले एकीकृत समाजवादीमा अहिले मन्त्री फिर्ता गर्ने निर्णयलाई नेपालको त्यही कमजोरीको उपजका रुपमा लिइरहेका छन् ।
एकीकृत समाजवादीका एक नेताले पार्टी नेतृत्वको कमजोरीका कारण समस्या देखिएको तर्क गरे ।
'निर्णय गर्नेबेलामा सवै पक्षबारे विचार गरेर गर्नु पर्नेमा दबाबमा निर्णय गर्दाको परिणाम हो यो,' उनले भने, 'भर्खर बन्दै गरेको पार्टीले यस्तो खालको समस्यामा फस्दा कार्यकर्तामा निरासा छाउँछ । आफू निर्णय गर्ने र दोष देउवालाई लगाउने खालको क्रियाकलापले फाइदा पुग्दैन ।'
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९