प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रियाबारे सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् ।
एसपीपीमा सत्ता पक्षका नेता र मन्त्रीहरुले जनतामा भ्रम फैलाउने गरी बोल्दै हिँडेको भन्दै सत्य तथ्य संसदमा जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । ‘एसपीपीमा मन्त्रीहरु र नेताहरुले भ्रम फैलाउने गरी बोल्दै हिँडेका छन् । जनतालाई गुमराहमा राख्न पाइँदैन । राज्यले पाउँदैन । राज्य सत्तामा बसेका नेताले पाउँदैन,’ उनले भने ।
ओलीले एसपीपीमा राष्ट्रिय स्वाधिनतालाई आघात पुग्ने विषयहरु राखिएको, कुटनीतिक मर्यादा नाघिएको भन्दै कसको पालामा के भएको हो सरकारले बाहिर ल्याउनुपर्ने माग गरेका छन् । ‘यस्तो गम्भीर विषयमा पत्राचार भएको हो कि होइन? पत्राचार भएको भए कुन तह कुन निकाय के विषयको निणर्यको आधारमा? पूर्व प्रधानमन्त्रीहरु कस कसले निणर्य गरेका छन् ? प्रधानमन्त्रीजीले बाहिर ल्याउनुहुन्छ भन्ने विश्वास छ । कुनै भ्रमणपूर्ण प्रचारबाजी गरेर हिँड्ने होइन । सत्य तथ्य बाहिर ल्याउने हो । यो कुरा प्रधानमन्त्रीजीले गर्नुपर्छ,’ उनले भने ।
अध्यक्ष ओलीले नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी नदिएर अमेरिकी राजदूतावासलाई पत्र लेखेकोमा पनि आपत्ति जनाए । ‘नेपाली सेना यस्तो चर्चामा आउने विषय होइन । सेनाले सिधै दूतावासमा पत्राचार गर्ने, कुनै कुटनीतिभित्र पर्दैन । त्यतिबेला प्रधानमन्त्री र रक्षामन्त्रीलाई पत्राचार पनि गराइएन,’ उनले भने ।
ओली प्रधानमन्त्री भएका बेला पत्राचार गरिएको आरोपमा पनि उनले अस्वीकार गरे । ‘म प्रधानमन्त्री भइसकेपछि पठाएको भनेर जुन भनिएको छ त्यसको सत्य तथ्य बाहिर आउनुपर्छ । सेनाले प्रचलन हो भनेको छ । प्रचलन हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी गराउन नहुने पनि प्रचलन हुन्छ र?’ उनले प्रश्न गरे, ‘नेपाल सरकार त बाध्यकारी हुनेगरी प्रबन्धहरु राखिएको छ । नेपाली सेनाभन्दा फरक व्यवहार गर्न नपाइने, सुरुमा पाँच वर्षलाई दिने बहुतै गम्भीर कुरा छ । हाम्रो स्वाधिनतालाई धक्का दिने खालको यो ख्यालठट्टाको विषय हो? यो भित्रभित्रकै विषय हुन सक्दैन । मस्यौदा लिक भएको छ । यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु पर्छ ।’
अध्यक्ष ओलीले एसपीपीमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती समेत दिए । सुशील कोइराला, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाकै पालामा एसपीपी अगाडि बढेको ओलीको संकेत थियो । आफू प्रधानमन्त्री भएको बेला एसपीपीको विषय आएपछि परराष्ट्र सचिवको नेतृत्वमा कमिटी गरेर अध्ययन गरेको पनि स्मरण गराए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९