काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
आगामी मङ्सिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ । त्यसका लागि आवश्यक पूर्वतयारीको कामसमेत निर्वाचन आयोग र सरकारलेसमेत सुरु गरिसकेका अवस्थामा माओवादी केन्द्रले आन्तरिकरुपमा तयारी सुरु गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै कर्णाली प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी साउन २९ गतेका लागि तय गरिएको छ ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार पार्टी सङ्गठन निर्माणलाई तीव्र पार्ने र आन्तरिकरुपमा सबै खालको तयारी गर्ने निर्णय आजको बैठकले गरेको छ ।
यस्तै आगामी निर्वाचनसम्मका लागि केन्द्र र प्रदेशबीच समन्वयको काम गर्नेगरी प्रदेश इञ्चार्जको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सम्मिलित प्रदेश समन्वय समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।
अन्तर्घातको छानविन गर्न समिति
स्थायी समितिको बैठकले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानविनका लागि एक समिति गठन गरेको छ ।
अनुशासन आयोगका संयोजक टङ्क राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको छानविन समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिए ।
सो समितिले ७५३ वटै स्थानीय तहको निर्वाचनका क्रममा भएका गतिविधिका बारेमा एकमुष्ठरुपमा छानविन गर्नेछ ।
समितिले दिने प्रतिवेदनका आधारमा आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने माओवादी केन्द्रको तयारी छ ।
अखिल (क्रान्तिकारी)को समस्या समाधानका लागि समिति
त्यस्तै स्थायी समितिको बैठकले पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) भित्र देखिएको विवाद समाधानका लागि एक समिति गठन गरेको छ ।
क्रान्तिकारीका पूर्वध्यक्ष रमेश मल्लको संयोजकत्वमा गठन भएको समितिमा पूर्वध्यक्षहरुलाई सम्मिलित गराइएको छ ।
समितिमा नरेन्द्र न्यौपाने र रत्न ढकाल सम्मिलित सुझाव समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिए । स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी १५ दिनभित्र टुङ्गो लगाउने गरी तयारी गरिएको बताइएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९