निर्वाचन आयोगले मतदाता भेट्न घरदैलो कार्यक्रम गर्दा २५ जनाभन्दा बढी मानिस लिएर हिडेकोभन्दै माओवादी केन्द्रकी नेतृ तथा कञ्चनपुर क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर र एमालेका नेता तथा ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ।
उनीहरू दुवै जनाले मतदाता भेट्न जाँदा २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको आयोगले जनाएको छ । ‘निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ ?’ स्पष्टीकरणमा भनिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ र खण्ड (ण) मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था छ।
एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो।
माओवादी केन्द्रकी मगरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको भनी उजुरी परेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९