आमनिर्वाचन पछि अव स्ववियु निर्वाचनको तयारीमा

आमनिर्वाचन पछि अव स्ववियु निर्वाचनको तयारीमा


 आमनिर्वाचन पछि अव स्ववियु निर्वाचनको तयारीमा

–शरद् शर्मा
काठमाडौँ, । मुलुकमा ठूला दुई निर्वाचन आमनिर्वाचन र स्थानीय तहको निर्वाचन सकिएको छ । 

आवधिक निर्वाचनका रुपमा रहेका ती दुई ठूला निर्वाचन सकिएलगतै  त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । 

२०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सवै निर्वाचन सकिएकोले अव त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए । 

“सवै निर्वाचन सकिए । अव हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौ,” उनले भने, “सवै विद्यार्थी सङ्गठनसंग छलफल गरेर फागुन महिनामा निर्वाचन गर्ने तयारीमा हामी जुट्छौ ।”

त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई बर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । 

त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई बर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । तर २०६५ सालसम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोेकिएको छ । 

२०६५ साल चैत ६ गतेपछि एकै पटक आठ बर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिवेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पस सहित उपत्यकामा ९ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसकेको थिएन । 

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठन लगतै सरकारको सहयोगमा नै स्ववियु निर्वाचन गर्ने बताए । “स्ववियु निर्वाचन निर्धारित मितिमा हुनुपर्दछ भन्नेमा त्रिवि र सवै विद्यार्थी संगठनहरु रहनु भएका छन्” उनले भने, “निर्वाचन गर्नका लागि विद्यार्थी संगठनबीच समेत हामीले छलफल जारी राखेका छौ ।”

२८ बर्ष उमेरहदवन्दी र मिश्रित निर्वाचन प्रणाली लागु भएपछि त्रिविका क्याम्पसमा नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेरहदवन्दी र मिश्रित निर्वाचन प्रणाली लागु भएपछि पहिलो पटक २०७३ सालमा  आङ्शिक रुपमा केही क्याम्पसमा मात्र भएको थियो । 

त्रिविले स्ववियु निर्वाचन गर्न पटक पटक पहल गरेपनि हुन सकेको छैन । 

अनेरास्ववियु महासचिव समिक बडालले सवै निर्वाचन सकिएको अवस्थामा अव विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनमा लाग्ने बताए । 

उनले स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेण्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए । 

उनले चाँडै नै सबै विद्यार्थी सङ्गठनसंग छलफल गरेर निर्धारित समयमा नै स्ववियु निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्ने बताए । “ हामी अव सवै विद्यार्थी सङ्गठनको बैठक राखेर निर्वाचनबारे धारणा सार्वजनिक गर्दछौ” उनले भने, “ लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन यसपटक हामी गराउँछौ ।”

उनले स्ववियुमा निर्वाचन नहुँदा मुलुकमा दलिय व्यवस्था प्रति पनि प्रश्न चिन्ह खडा भएकोले निर्वाचन आवश्यक रहेको बताए । 

उमेरहदबन्दी र प्रणाली मान्ने

नेपाल विद्याथी सङ्घका अध्यक्ष दुजाङ शेर्पा स्ववियु निर्वाचनको तयारीमा आफूहरु रहेको बताए ।  
“हामी यहि फागुन महिनामा नै स्ववियु निर्वाचन गर्न तयारीमा रहेका छौ । हाम्रो सङ्गठन र पार्टीका नेता पनि सकारात्मक हुनुहुन्छ,” उनले भने, “आम निर्वाचनको नतिजा सवै आइसकेपछि सवै सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचनको गर्न त्रिविलाई आग्रह गर्ने छौ ।”

उनले आफ्नो सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचनमा जाने निर्णय गर्ने बताए । 

अध्यक्ष शेर्पाले आफूहरु त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेर हदवन्दी र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार रहेको बताए । 

त्रिविले स्ववियु निर्वाचनका लागि २८ बर्षे उमेरहदवन्दी र सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् ।

स्ववियु निर्वाचन नहुँदा अहिले त्रिवि सभाका पनि विद्यार्थीको उपस्थिति रहेको छैन । 

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पंचा सिंहले हिजो मात्र प्रमुख विद्यार्थी सङ्गठनका पदाधिकारीसंग स्ववियु निर्वाचन निर्धारित समयमा गर्नका लागि छलफल गरेको बताइन् । 

“स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको आन्तरिक लोकतन्त्रको अभ्यास गर्न पाएका छैनन्” उनले भनिन, “हिजो मात्र मेरो विद्यार्थी सङ्गठनका पदाधिकारीसंग छलफल भएको छ । निर्वाचन  गर्न सवै संगठन तयार रहेका छन् । यो बर्षमा स्ववियु निर्वाचन गर्न सम्भव हुन्छ ।”

उनले अव हारजित हुने डरले भन्दा पनि स्ववियु निर्वाचन मुख्य कुरा भएकोले निर्धारित समयमा नै निर्वाचन गराउन सवै लाग्ने बताए । 

अध्यक्ष सिंहले आफ्नो सङ्गठनको तेस्रो केन्द्रीय समितिको  बैठक निर्वाचनका जाने निर्णय गरेर त्रिविलाई पनि निर्धारित समयमा स्ववियु निर्वाचन हुनुपर्दछ भनेर ज्ञापन पत्र बुझाएको बताइन । 

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अव हामी विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनमा केन्द्रीत हुने बताए । 

“राजाको प्रत्यक्ष शासन कालमा पनि भएको निर्वाचन आज लोकतान्त्रिक गणन्त्रको शासनमा नहुन दुःखद हुनु हो,” उनले  भने, “त्रिविले चाँडै नै स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गर्दछौ ।”

आरआर क्याम्पसका स्ववियु निवर्तमान सभापति तपेन्द्र शाहीले वैचारिक नेतृत्व उत्पादन गर्ने थलोका रुपमा स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए । उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकारका उठाउने ठाउँ नभएको बताए । 
 

निर्धारित मितिमा निर्वाचन हुन्छ : त्रिवि
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक  अधिकारीले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए ।

“बिद्यार्थीको आधिकारिक नेतृत्व नहुदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ” उनले भने, “त्यसैले हामी निर्धारित मिति फागुन १४ गते  निर्वाचन गर्न आतुर छौ ।”

निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी  सङ्गठनसंग पनि निरन्तर छलफल गरिरहेको बताए । 

उनका अनुसार २०१९ सालबाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुदै आएको थियो । २०३६ सालबाट स्ववियु निर्वाचन व्यवस्थित रुपमा प्रत्येक दुई दुई बर्षमा हुँदै आएको थियो । 

 


प्रकाशित मिति: बिहिबार, २२ मंसिर, २०७९, १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९