काठमाडौं । घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले सिरिजमा जित निकालेको हो ।
स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । रोहितले यस अघि पपुवा न्युगिनी र अमेरिकाविरुद्ध २/२ तथा यूएई र नामिबियाविरुद्ध १/१ अर्धशतक बनाएका थिए ।
करण केसीले ३७ बलमा अविजित ३१ रन बनाए ।
ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७ रन बनाए । आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए ।
ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोराले १ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए ।
नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।
१ सय ३८ रनमा आठौं विकेट गुमाएको नेपालले जितका लागि नवौं विकेटका लागि ७५ रनको महत्वपूर्ण साझेदारी गरे ।
स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए । सफियान सरिफ, माइकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले ।
उनले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका थिए ।
उनको यो ११ औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो ।
म्याथ्यु क्रसले ६३ बलमा ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए । उसका लागि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।
यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् ।
यसै खेलमा केसीले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।
२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल रहेको थियो । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाएको छ ।
स्कटल्याण्डलाई पराजित गरेको नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जितेको छ । नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली समेत बनेको छ ।
यस्तै नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ ।
स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९