काठमाडौँ । प्रधाननमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन् । पहिला राष्ट्रपति/उपराष्ट्रपति ८ दलीय गठबन्धनबाट निर्वाचित गराउन लाग्ने, त्यसपछि मात्रै विश्वासको मत लिने तयारी प्रधानमन्त्रीले गरेका हुन् ।
विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्न सुझाव पनि गठबन्धन दलले प्रधानमन्त्री दाहाललाई दिएका छन् ।
प्रधानमन्त्री र आठ दलीय गठबन्धनका रहेका नेताहरूसँगको सल्लाहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ५ चैतसम्मका लागि सारिएको छ । संघीय संसद् सचिवालयले सूचना टास गरेर ५ चैतसम्मका लागि बैठक सारेको हो ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन २५ फागुनमा र उपराष्ट्रपति निर्वाचन ३ चैतमा गर्ने मिति निर्धारण गरेको छ ।
राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिष्पर्धामा छन् ।
नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाणले पहिला राष्ट्रपति निर्वाचन सम्पन्न गरेपछि मात्रै सरकारले विश्वासको मत लिने बताए ।
‘पहिला ८ दलीय गठबन्धन राष्ट्रपति निर्वाचन सम्पन्न गर्नतर्फ केन्द्रित हुन्छ,’ पूर्वगृहमन्त्री खाणले भने, ‘त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ ।’
खाणले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताए । ‘पहिला राष्ट्रपति निर्वाचन सम्पन्न गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ, त्यसपछि सरकार विस्तारसम्बन्धी काम सुरु हुन्छ,’ पूर्वगृहमन्त्री खाणले भने, ‘सरकारमा सहभागी हुन चाहने दलहरूसँग समन्नवय गरेर सरकार विस्तारको काम हुन्छ ।’
अहिले एमालेले आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएपछि १६ मन्त्रालयको जिम्मा प्रधानमन्त्री आफैले लिएका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९