सडक अधुरै, आवागमनमा सास्ती

सडक अधुरै, आवागमनमा सास्ती


सडक अधुरै, आवागमनमा सास्ती

कैलाली । पूर्व–पश्चिम राजमार्गबाट १४ किलोमिटरभित्र पर्ने लम्की–टीकापुर सडकखण्ड समयमै निर्माण हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । सम्झौता सकिँदा पनि सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम अधुरै छाडेको छ । सडक हिलाम्य भएको छ । यात्रुलाई हिँड्दा हैरानी भएको छ ।

‘दैनिक हिँड्नुपर्छ । खाल्डाखुल्डी, धुलो र हिलोले सास्ती भएको छ’, स्थानीय नरेन्द्र चौधरी भन्छन्, ‘सडक बन्ला र आवागमनमा सहज होला भन्दाभन्दै वर्षौँ बित्यो, तर सडक बनेन ।’ हुलाकी सडक आयोजना कार्यालयले यसअघि उक्त सडक कालोपत्र गरेको थियो । तर एक वर्षमै भत्कियो । सडक कालोपत्र हुँदा लम्कीबाट टीकापुर पुग्न आधी घण्टा लाग्थ्यो । तर अहिले टीकापुर पुग्न एक घण्टाभन्दा बढी लाग्ने गरेको स्थानीयको गुनाासो छ ।

लम्की–टीकापुर–खक्रौरा सडकको काम समयमै सम्पन्न गर्न तीन भागमा विभाजन गरी कामको बाँडफाँड गरिएको थियो । तीनवटा निर्माण कम्पनीलाई कामको जिम्मा लगाइ पनि दुईवटाको काम अधुरै छ । तीस किलोमिटर सडकखण्ड निर्माणका लागि तीन भागमा विभाजन गरिए पनि लम्कीबाट जानकी गाउँपालिकाको पथरैयासम्मको काम मात्र सम्पन्न भएको छ । पथरैयाबाट टीकापुर नगरपालिका–४ अस्नेहरीसम्मको सडक निर्माणको जिम्मा एपेक्स कृष्ण खड्का जेभीले पाएको छ । अस्नेहरीबाट खक्रौलासम्मको बाँकी सडक निर्माणको जिम्मा रायमाझी गाल्भा जेभीले पाएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले कालोपत्रका लागि २०७७ जेठमा सम्झौता गरेको हो । पहिलो खण्डको आठ किलोमिटरको काम रु ४० करोड १९ लाख ९१ हजारमा कुमार कालिका जेभीले पूरा गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए । उक्त कम्पनीले लम्की क्षेत्रको साढे तीन किलोमिटर चार लेनको सडक निर्माण सम्पन्न गरेको छ ।

‘दुई भागको ३५ प्रतिशत मात्र काम भएको छ’, उनले भने, ‘एउटा निर्माण कम्पनीले ठेक्काको जिम्मा लिएर अर्कोलाई काम गर्न लागएका कारण काममा ढिलाइ भएको हो ।’ दोस्रो खण्डसडक निर्माणको सम्झौता २०७७ जेठमा भएको थियो । १० किलोमिटर सडक निर्माणका लागि रु ४० करोड ९९ लाखमा ठेक्का सम्झौता भएको थियो । चालु आर्थिक वर्षको पुससम्म समयावधि रहेको उक्त खण्डको ३५ प्रतिशत मात्र काम भएको छ । पहिलो चरणको सम्झौताको समयावधि गत वर्ष मङ्सिरमा सकिएपछि एक वर्ष म्याद थप गरिएको सूचना अधिकारी सुनारले बताए ।

तेस्रो खण्डको साढे ११ किलोमिटरको काम हुँदैछ । रु ३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको तेस्रो खण्डको पनि ३५ प्रतिशत मात्र काम पूरा भएको छ । सो कार्य आगामी पुससम्म सम्पन्न गर्नुपर्ने समयावधि छ । सम्झौताको समय सकिन छ महिनामात्र बाँकी रहेका बेला ६५ प्रतिशत काम अझै बाँकी छ ।

टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले सडकको काम समयमै सम्पन्न गर्नका लागि आयोजना कार्यालय र निर्माण कम्पनीलाई ताकेता गर्दै आएको बताए । सडककै समस्याका कारण टीकापुरले कयौँ सम्भावना समेत गुमाएको उनको गुनासो छ । ‘ताकेता गर्दै आएका छौँ । सुनवाइ भएको छैन । टीकापुर आउने व्यक्ति सडकको अवस्था देखेरै फर्कने गरेका छन् ।’


प्रकाशित मिति: बुधबार, १० साउन, २०८०, १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९