काठमाडौँ, । नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो ।
पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीले नयाँ बर्षको अवसरमा आगामी बैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिए ।
पार्टी कार्यालयका संचालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।
एक बर्ष अघि मात्र धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो ।
नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुननिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ । अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रंगरोगन समेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मत सम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिए ।
उनका अनुसार नयाँ भवनमा पार्टी संचालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन् । पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । भुइ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको भवन निर्माण कमिटीका सदस्य पहाडीले जानकारी दिए ।
उनका अनुसार नयाँ भवनमा एक ठूला सभा हल र तीनवटा सभा कक्ष रहने छ ।
पार्टी केन्द्र्रीय कमिटी बैठक बस्नका लागि ५०० क्षमताको ठूलो हल निर्माण गरिएको छ ।
तीन महिना लगाएर प्रि इन्जिनियर्ड पोर्टल संरचना विधि अनुसार उक्त ५०० क्षमताको हल भवनको पश्चिमतिर बनाउन थालिएको विभागका सदस्य पहाडीले बताए । यस्तै मदनभण्डारी स्मृति कक्ष, पुष्पलाल स्मृति कक्ष र मनमोहन स्मृति कक्ष पनि नयाँ कार्यालयमा बनाइएको छ ।
एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानसंग पाँच बर्षका लागि भवन भाडामा लिएको छ ।
यसैगरी नयाँ सर्न थालिएको भवनमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।
पार्टी अध्यक्ष र महासचिवको कक्ष पहिलो तलामा रहने छ भने दोस्रो तलामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवको कार्यकक्ष रहने छ । पार्टी अध्यक्षको कार्यकक्षमा अध्यक्षले नियमित बैठक गर्न अलग्गै कक्ष समेत बनाइएको उनले जानकारी दिए ।
पार्टी अध्यक्ष र महासचिव रहेको पहिलो तलामा नै मदन भण्डारी स्मृति कक्ष (अति विशिष्ट कक्ष) बनाइएको छ । उक्त कक्षमा पार्टी अध्यक्षसंग जोडिएको महत्वपूर्ण बैठक र विशेष बैठक हुने छ ।
यस्तै पहिलो तलामा नै पार्टीको सचिवालय, स्थायी र पोलिटव्युरो बैठक गर्नका लागि पुष्पलाल स्मृति कक्ष बनाइएको छ ।
उनका अनुसार भुई तलामा अत्याधुनिक प्रविधिमैत्री मनमोहन स्मृति कक्ष (डिजिटल कक्ष) बनाइएको छ । उक्त कक्षबाट पार्टीको महत्वपूर्ण विषय सार्वजनिक गर्न र भर्चुअल रुपमा सातवटै प्रदेशबाट प्रशिक्षणका संचालन गर्न सकिन्छ ।
भुई तलामा नै कार्यालय सचिव, कार्यालय र तुल्सीलाल स्मृति केन्द्रीय पुस्तकालय रहने छ ।
पहिलो तलामा नै आर्थिक विभाग प्रचार तथा प्रसार विभाग, विदेश विभाग, संगठन विभाग र सल्लाहाकार परिषद्का कार्यकक्ष रहने छ ।
यस्तै दोस्रो तलामा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग सहित विभागका कार्यकक्ष रहने छन् ।
०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि एमाले पार्टी कार्यालयसंचानका लागि घर भाडामा लिइ संचालन गरिरहेको छ । भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्काएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनको घर भाडामा लिइ संचालन गरेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९