१७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली

१७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली


१७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली

काठमाडौँ, । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ ।

आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचाारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारवाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारवाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीयरुपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह—पूर्वाग्रह नराखी ऐन, कानूनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।

 स्थानीय तह सदस्य निर्वाचन, २०७९ १७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली प्रमुख आयुक्त थपलियाले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारवाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गरे ।

स्वतन्त्र उम्मेदवारले अमुक दलको झण्डा प्रदर्शन गर्ने, एक उम्मेदवारलाई प्रयोग गर्न दिइएको गाडी अर्काे उम्मेदवारले प्रयोग गर्ने, मतदातालाई धम्की वा आश्वासनको प्रभावमा पार्ने कामहरू पनि भइरहेकाले निर्ममतापूर्वक कारवाही गर्न पनि उहाँले निर्देशन दिए ।

प्रमुख आयुक्त थपलियाले मतदाताको निर्वाध मत खसाल्न पाउने अधिकारलाई सुनिश्चित गर्नु आयोगको दायित्व भएकाले मतदान वा मतगणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी स्थितिलाई सामान्य तुल्याउन, सहजीकरण र समन्वय गर्न टोलीलाई आग्रह गरे ।

 उनले सबै पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सम्पन्न हुने भएकाले सो अवधिभित्र मतगणना सम्पन्न गर्ने गरी आवश्यक जनशक्ति खटाइएकाले आयोगका कारणले गणनामा ढिलाइ हुन नहुने पनि स्पष्ट पारे ।

आयोगका आयुक्त एवं केन्द्रीय अनुगमन समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले ‘सानो तर स्मार्ट’ अनुगमन टोली खटाइएको बताउँदै कुनै दलले जित्ने वा हार्ने बाहनामा गणना कार्य रोकाउन नहुने र तोकिएको समयमा कुनै दल र उम्मेदवारका प्रतिनिधि बस्न नआए पनि गणना प्रक्रिया सुरु गराउन आग्रह गरे । आयोगका योजना, अनुगमन तथा वैदेशिक समन्वय शाखाका उपसचिव कमल भट्टराईले खटाइएका टोलीका लागि तोकिएका जनशक्ति र आवश्यक स्रोत सामग्री उपलब्ध गराइएको र टोलीले तत्कालै स्थलमा पुगेर कार्य प्रारम्भ गर्ने बताए । 

 


प्रकाशित मिति: शनिबार, २४ बैशाख, २०७९, २१:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९