काठमडौं, २१ वैशाख ।
यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य लाभ लिइरहेका छन् । ओलीलाइ स्वास्थ्य लाभको कामना गर्न दिनहु नेताहरु गुण्डुस्थित ओली निवास पुग्ने गरेको भएपनि केही दिन यता रोकिएको छ । शल्यक्रिया गरेको घाउमा इन्फेक्सन भएपछि भेटघाटमा प्रतिबन्ध लगाइएको छ ।
उनी विरामी हुनुभन्दा अघि वर्तमान सरकारले प्रतिशोध साँधेर पक्राउ गरी हिरासतमा लिएको थियो । त्यतिबेला एमालेका अध्यक्ष ओलीले रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाउनेदेखि कार्यवाह अध्यक्षको समेत जिम्मेवारी सुम्पेका थिए ।
खासगरी एमालेभित्र माओवादी पृष्ठभूमिबाट आएका नेताहरुको नेतृत्वलाई त्यति शोभनीय ठानिदैन । त्यही कारणले बादललाई कार्यबाहक जिम्मेवारी दिएको विषय एमालेका नेताहरुले रुचाएका थिएनन । निर्वाचन अघि र पछि एमालेको ठूलो पंक्तिले नेतृत्व परिवर्तनको बहस चलाइरहेको थियो । त्यही बहसमा यदकदा उपाध्यक्ष विष्णु पौडेल पनि मिसिएका थिए । चुनाव हारे लगत्तै एमालेको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा उभिएका उपाध्यक्ष पौडेल बेलाबखत सामाजिक सञ्जालमा यही विषयमा बहस चलाइरहेका हुन्छन । तर त्यति खुलेर बाहिर आउन सकेका थिएनन । उनले केही दिन अघि एउटा कार्यक्रममा नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकतासहितको लामो अभिव्यक्ति दिएका थिए ।
एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला महासचिव शंकर पोखरेलले पनि ओली समक्ष ‘स्पेशल सम्मानसहितको सहज नेतृत्व हस्तान्तरण’को प्रस्ताव गरे । तर ओलीले यो विषयलाई सुन्न चाहेनन र महासचिव पद बढी भएको हो भन्नसम्म भ्याएका थिए । अस्पताल बसाईको क्रममा पोखरेलले यस्तो प्रस्ताव राखेपछि ओली शंकर पोखरेलसँग चिसिए र तुच्छ बचन समेत लगाएका थिए । यसका साथै पौडेलसँग यसअघि नै विच्किएका ओलीले बादललाई कार्यवाहक अध्यक्ष दिएर झन विच्काएका थिए । पौडेल विच्किएपछि ओली पनि के कम उनीहरुलाई ठेगान लगाउनका लागि पूर्व माओवादीका नेताहरुसँग नजिक भए ।
त्यही बेला वैशाख ४ गते नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न प्रचण्ड पुगेका थिए । उनी ३० मिनेट जति बसेको कुराकानी गरेका थिए । त्यही बेला एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड–ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको थियो । त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए ।
नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा छलफल गरेका थिए । उनीहरुबीच करिब ४ घण्टा छलफल भएको थियो । त्यसपछि प्रचण्ड ओलीलाई भेट्न पुगेको थिए । उनीहरूबीच नेकपा र एमालेबीचको सहकार्यको विषयमा कुरा भएको स्रोतको दाबी छ ।
त्यसअघि एमालेका उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत नेतृत्व परिवर्तनको कुरा उठाउदा आगो भएका ओलीले प्रचण्डलाई पार्टी एकिकरण गराएर संसदीय दलको नेताको प्रस्ताव गरेका थिए । साथै वर्षमान पुनलाई पार्टी महासचिवको प्रस्ताव गरेका थिए । पार्टी अध्यक्ष ओली आफै रहने, संसदीय दलको नेता प्रचण्ड बनाउने र महासचिव पुनलाई बनाउने गरी छलफल थालेको बुझेपनि पौडेल र पोखरेलबीच सहकार्य भएको थियो ।
‘ आफू अनुकुल नभएको थाह पाएपछि ओलीले प्रचण्डलाई संसदीय दलको नेता, वर्षमान पुनलाई महासचिव र आफू अध्यक्ष बन्ने प्रस्ताव गएको थियो, यसपछि अब एमालेको नेतृत्व पुर्नगठनको बहस मात्र होइन, साँच्चै परिवर्तन गर्नुपर्ने रहेछ भन्ने तहमा पुगियो, यो अभियान रोकिदैन, प्रचण्डलाई ल्याएर भारी बोक्न सकिदैन’, महासचिव निकट रहेका एक नेताले भने । ती नेताका अनुसार अब ओली हटाउनका लागि शंकर पोखरेल नै लागेपछि सम्मानजनक बर्हिगनको विकल्प नभएकाले सचिवालय बैठक बोलाउन समेत ढिलाई गरिएको छ । अहिले ओली सचिवालयमा समेत अल्पमतमा रहेका छन् ।
