काठमाडौं, २१ वैशाख ।
सशस्त्र प्रहरी बल, नेपालका नव नियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार प्रधान कार्यालय हल्चोकमा पदबहाली गर्दै संगठन सुधार, पारदर्शिता र आधुनिकीकरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत गरेका छन्।
पदबहालीसँगै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्दै महानिरीक्षक पौडेलले अग्रजहरूले देखाएको त्याग, समर्पण र बलिदानीको सम्मान गर्दै अमर शहीदको मार्गमा अडिग रही कर्तव्य निर्वाह गर्न निर्देशन दिए। उनले संगठनले हासिल गरेका उपलब्धि आधार मात्र भएको उल्लेख गर्दै सुधारलाई निरन्तर प्रक्रियाका रूपमा संस्थागत गर्नुपर्ने बताए।
उनले सशस्त्र प्रहरी बललाई “विश्वसनीय, आधुनिक, उत्तरदायी र परिणाममुखी” सुरक्षा संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य प्रस्तुत गर्दै विगतका अनुभवबाट सिक्दै वर्तमान सुदृढ र भविष्य स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिए।
महानिरीक्षक पौडेलले अनुशासन, चेन अफ कमाण्ड र संस्थागत निष्ठालाई संगठनको आधारशिला बताउँदै गैरव्यावसायिक आचरण, भ्रष्टाचार तथा बाह्य प्रभावप्रति शून्य सहनशीलता अपनाइ कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारे। पुरस्कार र दण्डको प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाइने तथा सरुवा, बढुवा र अवसरहरूलाई पूर्वानुमान योग्य बनाउने नीति अवलम्बन गरिने उनले बताए।
संगठनको ऐन तथा नियमावली समयसापेक्ष परिमार्जन गर्ने, आवश्यक स्रोतसाधन उपलब्ध गराउने र आधुनिकीकरणलाई तीव्रता दिने योजना समेत उनले प्रस्तुत गरे। तालीम प्रणालीलाई प्रविधिमैत्री र व्यवहारिक बनाउँदै ज्ञानसँगै सीप र नेतृत्व विकासमा जोड दिइने उनले बताए।
सीमा सुरक्षातर्फ ‘डिजिटल बोर्डर’ अवधारणा अघि सार्दै बोर्डर इन्टेलिजेन्स प्रणाली सुदृढ गर्ने, बीओपी विस्तार गर्ने तथा सीमावर्ती नाकाहरूमा आवतजावत सहजीकरण र अपराध निगरानीका लागि ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन गरिने उनले जानकारी दिए।
विपद् व्यवस्थापनतर्फ बाढी, पहिरो, भूकम्प र हिमपहिरो जस्ता घटनामा द्रुत उद्धारका लागि अत्याधुनिक उपकरण, विशेष तालिम र उच्च पर्वतीय उद्धार क्षमताको विकास गरिने उनले बताए। मनसुनजन्य विपद्का लागि पूर्वतयारी अवस्थामा रहन उनले निर्देशन पनि दिए।
पदबहालीअघि महानिरीक्षक पौडेलले हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पचक्र अर्पण गरेका थिए भने सम्मान गारद टोलीले सलामी दिएको थियो।
कार्यक्रम लाईभ स्ट्रिमिङमार्फत देशभरका इकाईहरूमा प्रसारण गरिएको थियो। समारोहमा वरिष्ठ अधिकृतहरू तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
