काठमाडौं, २६ वैशाख ।
बागमती प्रदेश बक्सिङ संघको दोस्रो साधारण सभा तथा निर्वाचनबाट १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी रामचन्द्र थापामगर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। शनिवार भएको साधरणसभाबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । काठमाडौंको जडीबुटीस्थित क्लासिक दरबार ब्याङ्क्वेटमा सम्पन्न अधिवेशन पूर्व मन्त्री एवं प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बागमती प्रदेशका आठ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो।
निर्वाचित ९ सदस्यीय कार्यसमितिमा अध्यक्ष रामचन्द्र थापामगर, उपाध्यक्ष अनिलप्रसाद दाहाल, सचिवमा रामकृष्ण प्रजापति, कोषाध्यक्षमा नयनबहादुर भण्डारी तथा सदस्यहरूमा अनुशा थापामगर, संगीता राना, कृष्णबहादुर कुमाल, हरि खतिवडा र अमित मानन्धर सर्वसम्मत चयन भएका छन्। कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुद क्षेत्रमा सरकारी प्राथमिकता अभावका कारण बक्सिङ जस्तो पदक सम्भावना बोकेको खेल कमजोर बन्दै गएको टिप्पणी गरे।
उनले प्रतियोगिता सञ्चालन, कभर्ड हल निर्माण तथा खेलाडीका लागि आवश्यक पूर्वाधार विकासमा सरकार अग्रसर हुनुपर्ने बताए। उपयुक्त स्थान उपलब्ध गराइए बागमती प्रदेश सरकारमार्फत कभर्ड हल निर्माणका लागि बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले विभिन्न चुनौतीका बीच अधिवेशन सम्पन्न हुनु सकारात्मक भएको उल्लेख गर्दै खेलमा नातावाद र भनसुन संस्कृतिले असर गरेको बताए।
उनले योग्य खेलाडीको निष्पक्ष छनोट आवश्यक रहेको धारणा राखे। तदर्थ समितिका संयोजकसमेत रहेका थापामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न खेल पदाधिकारी, प्रशिक्षक, निर्णायक, पत्रकार तथा बक्सिङप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्वाचन समितिका संयोजक श्याम रोक्काले निर्वाचित पदाधिकारीलाई सपथ गराएका थिए भने प्रमाणपत्र वितरण गरिएको थियो।
