काठमाडौं २५ वैशाख ।
नेकपा एमाले पुनर्जागरण अभियानले तत्कालीन पार्टी कार्यालयस्थल मदननगर बल्खुमै पार्टी सदस्य र शुभेच्छुकको सहयोगमा केन्द्रीय कार्यालय भवन निर्माण गर्न माग गरेको छ ।
‘‘एमाले पंक्तिको स्वाभिमान, आफ्नै जमिनमा गरौँ कार्यालय निर्माण !’’ शीर्षकमा शुक्रवार वक्तव्य जारी गर्दै अभियानले त्यस्तो माग गरेको हो । च्यासल ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा संचालित कार्यालय सरकारको पछिल्लो सूचनाले हट्ने सम्भावना बढेपछि अभियानमा क्रियाशीलहरुका तर्फबाट वक्तव्य जारी गरिएको राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाहीले बताए ।
‘काठमाडौँ बल्खुस्थित मदननगरमा रहेको नेकपा (एमाले)को आफ्नै पर्याप्त जग्गा पार्टीको ऐतिहासिक, भावनात्मक तथा संगठनात्मक विरासतसँग जोडिएको स्थल हो । उक्त स्थानमा लामो समयसम्म पार्टी कार्यालय सञ्चालन भइसकेको, पार्टी सदस्यहरूको योगदान जोडिएको तथा लाखौँ कार्यकर्ता र शुभेच्छुकको भावना गाँसिएको तथ्य सर्वविदित नै छ’ अभियानले वक्तव्यमा भनेको छ,‘नेकपा (एमाले) को इतिहास, विरासत र संगठनात्मक पहिचानसँग प्रत्यक्ष सम्बन्ध रहेको आफ्नै जग्गा हुँदाहुँदै विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमा कार्यालय सञ्चालन गर्नु उपयुक्त देखिँदैन । यसले पार्टीको आत्मनिर्भरता, संस्थागत गरिमा र सार्वजनिक छविमा समेत नकारात्मक प्रभाव पारिरहेको देखिन्छ ।’
त्यस्तै, अभियानले पार्टीले आफ्नै जमिनमा भवन निर्माण गर्दा स्वाभिमान बढ्ने भन्दै यसलाई नयाँ पुस्ता र जनतासँग जोडिने अभियानका रुपमा संचालन गर्न पनि ध्यानाकर्षण गरेको छ ।
‘बल्खुस्थित मदननगरको उक्त जग्गा प्राविधिक, भौगोलिक, ऐतिहासिक तथा भावनात्मक दृष्टिले समेत केन्द्रीय कार्यालय निर्माणका लागि सबैभन्दा उपयुक्त रहेको हाम्रो ठहर छ । साथै आफ्नै जमिनमा कार्यालय निर्माण गर्नु नै एमाले पंक्तिको स्वाभिमान बढ्नु हो’ वक्तव्यमा भनिएको छ,‘अतः अब सार्वजनिक वा निजी जग्गामा, अथवा कुनै व्यापारी वा व्यक्तिमा निर्भर नभई नयाँ पुस्तासँग जोडिने तथा जनतामाझ थप मजबुत आधार निर्माण गर्ने उद्देश्यसहित नेकपा (एमाले) को केन्द्रीय कार्यालय आफ्नै जग्गामा निर्माण गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ ।’
अभियानले २४ असार, २०७९ बाटसंचालित ‘आत्मनिर्भरताका लागि ५००० बाट ५००० राष्ट्रिय अभियान’बाट जुटेको आर्थिक सहयोगको सदुपयोग गर्दै श्रमदानसहित सम्पूर्ण सहयोगका लागि पार्टी सदस्य, शुभचिन्तक र आम सर्वसाधारणलाई आह्वान गर्नु नै अहिलेको आवश्यकता भएकोमा जोड दिएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले बताए ।
