काठमाडौं, २७ वैशाख । एमालेले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलकोे बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।
संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउन बोर्ड गठन गरिएको एमाले संसदीय दलले जनाएको छ । बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी ६ जना पदाधिकारी रहने प्रतिनिधिसभाका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
बाँकी सदस्यहरूमा प्रतिनिधिसभाबाट १० र राष्ट्रिय सभाबाट चार तथा संयुक्त समितिका दुई गरी कुल १६ वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ता (संयोजक) रहने गरी संरचना तयार गरिएको उनले बताए । संवैधानिक परिषद्लगायतका अध्यादेश ल्याएर देशलाई अध्यादेशमार्फत चलाउन खोजेको भन्दै एमालेले संसद्मा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सुकुमवासीहरूको मौलिक र मानव अधिकार तथा आत्मस्वाभिमानमा चोट पुग्ने गरी सरकारले डोजर लगाएर वासस्थानबाट निकाला गरेकोमा पनि एमालेले आपत्ति प्रकट गरेको छ ।
