काठमाडौं, २७ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलबीच भेटघाट भएको छ । लामो समयपछि ओलीलाई भेट्न आइतबार साँझ ७ बजे पौडेल गुण्डु पुगेका हुन् । एमालेमा नेतृत्वको बहस टड्कारो रुपमा उठिरहेका बेला पौडेलले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन् । उनीहरुबीच शुरुमा ओलीको स्वास्थ्य अवस्थाबारे कुराकानी शुरु भएको थियो । त्यसपछि मुलुकको समसामयिक राजनीतिक अवस्था र परिस्थितिबारे कुराकानी भएको गुण्डु स्रोतले भन्यो ।
एमाले उपाध्यक्ष पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताइरहेका बेला ओलीसँग एकल भेटघाट गर्नुलाई एमाले पंक्तिले अर्थपूर्ण रुपमा लिएको छ ।
रुपन्देही २ बाट पराजय भोगेलगत्तै पौडेलले नेतृत्व परिवर्तनको अग्रसरता लिने संकेत गर्दै भनेका थिए– ‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।’
महाधिवेशनमा पराजित पक्षले होइन ओलीलाई जिताउने नेताहरूले नै नेतृत्व परिवर्तनको अग्रसरता लिएपछि एमालेमा अब ओलीलाई कार्यकारी नेतृत्वबाट बिदा गराउने प्रक्रिया अघि बढ्ने देखिएको छ । पौडेलपछि ओलीनिकटकै नेता प्रदीप ज्ञवालीले पनि आवश्यकता परे नेतृत्व परिवर्तन गर्नेतर्फ जाने प्रतिक्रिया दिइसकेका छन् । पौडेलले यसबीचमा केही पदाधिकारीसहित एमालेका नेताहरुसँग नीतिहरूको पुनः व्यवस्थापन, नेतृत्व परिवर्तन, कार्यशैली र संगठनको पुनर्गठनको आवश्यकताका बारेमा अनौपचारिक छलफल समेत गरेका छन् । पार्टी मिलाउन र नेतृत्वबीच समन्वय गर्न एउटा हदसमम नथाकी प्रयास गर्ने शान्त स्वभावका पौडेलले एमालेको तलाउमा परिवर्तनको ढुंगा खसालेर एमालेमा तरंग सिर्जना गरेका छन् । उनी अब अहिलेको मुख्य नेतृत्वलाई राजीनामा गराएर वा प्रक्रियाबाट बिदा गरेर पार्टीलाई पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
