काठमाडौं, २८ वैशाख । संसदको वर्षे अधिवेशनको पहिलो दिन नै विपक्षी दलहरु सरकारको कार्यशैलीविरुद्ध आक्रमक बन्ने भएका छन् ।
आजबाट सुरु हुने बर्षे अधिवेशनको पहिलो दिन नै संवैधानिक परिषद्लगायतमा सरकारले ल्याएका अध्यादेश, सुकुम्बासीहरुको बिस्थापन, संसद नियमावली परिवर्तनलगायतका विषयलाई लिएर विपक्षीहरुले आक्रमक प्रतिवाद गर्ने तयारी गरेका हुन् ।
त्यस विषयमा कांग्रेस र एमाले नेताहरुले नेकपासहित अन्य दलका नेताहरुसँग पनि लगातार संवाद र छलफल गरिरहेका छन् । संयुक्त सदनमा सोमबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै अध्यादेश पेश, नियमावली मस्यौदा समितिको प्रतिवेदन प्रस्तुत गर्ने संयुक्त सदनको सम्भावित कार्यसूचि छ । त्यसपछि केहीबेरको ब्रेकपछि सुरु हुने दोस्रो बैठकमा नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफलका लागि सोमबारै टेबल र धन्यवाद प्रस्ताव पास गर्ने कार्यसूचि छ । विपक्षी दलहरुले राष्ट्रपतिको सम्बोधन लगत्तै संयुक्त प्रतिवादको योजना बनाएका छन् । नीति तथा कार्यक्रम र बजेट तयारीबारे विपक्षीहरुसँग छलफल र सुझाव लिने अभ्यास रहे पनि सरकारले ती काम नगरेकोमा पनि विपक्षीहरु रुष्ट छन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको कार्यशैलीको प्रतिवादबारे विपक्षीहरुसँग एकसरो छलफल भइसकेको र अझै छलफल जारी रहेको बताए । ‘हामीले एकसरो छलफल गरिसकेका छौं, अझै छलफल गर्दैछौं, मिलेरै बिरोध गर्छौं ।’ आङदेम्बेले भने ।
एमाले नेता तथा सांसद गुरु बरालले सदनको कारवाही आरम्भ हुनासाथ संयुक्त प्रतिवाद गर्ने समझदारी रहेको बताए । ‘हामी संसदको कारवाही आरम्भ भएपछि सरकारको कार्यशैलीको संयुक्त रुपमा शसक्त प्रतिवाद गर्छौं ।’ बरालले भने ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको गलत कार्यशैलीबारे विपक्षी दलहरु निरन्तर सम्वाद र छलफलमा रहेको बताए । उनले अध्यादेश, सुकुम्बासीहरुको आवासमा लगाइएको बुल्डोजर, संसद नियमावलीका विषयमा सबै विपक्षीहरुबीच एउटै साझा धारणा बनिसकेको जानकारी दिँदै संसदमा पनि सबै दलले बिरोध गर्ने र अस्वीकृतका लागि सूचना दर्ता गर्ने बताए ।
‘संसद छलेर ल्याइएको अध्यादेश, सुकुम्बासीहरुलाई बिचल्ली पार्ने सरकारको काम र संसद नियमावली संशोधनका बारेमा विपक्षी सबै दलहरुको एउटै धारणा बनिसकेको छ’,दुलालले भने,‘बिरोधका लागि हामी छुट्टाछुट्टै बोले पनि संयुक्त प्रतिवादका लागि साझा धारणासहित प्रस्तुत हुनेगरी तयारी गरेका छौं ।’
।
उनले नीति तथा कार्यक्रम र बजेट तयारीबारे पनि अहिलेको सरकारले विपक्षीहरुसँग कुनै सरोकार नराखेको भन्दै ती दुवै विषयको पनि प्रतिवाद हुने बताए । नेकपाले संसद बैठकअघि सोमबार संसदीय दलको कार्यालयमा बिहान ११ बजे दलको बैठक बोलाएको छ । त्यस्तै, महंगीलगायतका विषयमा पनि विपक्षीहरु साझा धारणासहित प्रस्तुत हुँदैछन् ।
।
कांग्रेस प्रमुख सचेतक बासना थापाले सत्ता पक्षको रवैयाविरुद्ध विपक्षीहरुले साझा रणनीतिसहितको खाका बनाइसकेको बताइन् । ‘हामीले खाका बनाइसकेका छौं, थप गृहकार्यहरु पनि भइरहेको छ ।’ थापाले भनिन् ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले राज्यले सुकुम्बासीहरुमाथि गरेको दमन, अध्यादेशलगायतका विषयमा सोमबारको बैठका पार्टीले सशक्त प्रतिकार गर्ने तयारी गरेको बताए ।
‘विशेष समय नदिने भनिएको रहेछ तर सभामुखलाई भेटेर समय माग्छौं, दिइएन भने पनि ढ्यापढ्यापे समयमै राज्यले सुकुम्बासीहरुमाथि गरेको दमन, अध्यादेशलगायतका विषयमा प्रतिकार गर्छौं’ राईले भने,‘यस विषयमा अरु विपक्षीहरुसँग पनि कुरा भइरहेको छ, उहाँहरु पनि एकै ठाउँ नै आउनुहुन्छ होला, हामी बिरोधको नेतृत्व गरेर अघि बढ्छौं ।’
उनले विपक्षीरु साझा धारणासहित जाने समझदारी भए पनि औपचारिक बैठक बसेर ठोस निष्कर्षसतिको औपचारिक निर्णय भने भइनसकेको जानकारी दिए । ‘चरण चरणमा अनौपचारिक संवाद र छलफल त भइरहेको छ, तर यही नै गर्ने भने औपचारिक छलफल गरेर आधिकारिक निर्णय नै चाँही भइसकेको छैन ।’ उनले भने ।
विपक्षी दलहरुले १६ वैशाखमा अलग्गै बैठक बसेर सरकारविरुद्ध मोर्चाबन्दी सुरु गरेका थिए । संसद बैठक स्थगित गराएर संवैधानिक परिषद् र सहकारीसम्बन्धि अध्यादेश ल्याउने सरकारले निर्णय गरेलगत्तै कांग्रेसको आह्वानमा बसेको विपक्षी चार दलको संयुक्त बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराउँदै पछि नहटे अस्वीकृत गरेर निर्णायक कदम चाल्न राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका थिए । त्यसपछि पनि बैठक बसेर उनीहरुले अध्यादेश, सुकुम्बासी समस्या, संसद नियमावलीलगायत समसामायिक विषयमा साझा धारणा सार्बजनिक गरेका थिए ।
