काठमाडौं, ३० वैशाख ।
लामो समयदेखि एमाले अध्यक्ष बाहिर निस्कन सकेका छैनन । हर्निया र पित्त थैलीको अप्रेसन गरेपछि बाहिर हिडडुलमा समस्या भएको छ । ओली एक प्रकारले वेड रेष्ट जस्तै गरेर बसेका छन् । त्यसक्रममा गुन्डुमै पुगेर एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि ओलीसँग छलफल गरेका थिए । पित्तथैलीको स्टोन र हर्नियाको पनि अप्रेसन गरिएकाले कम्मरमा भएको घाउ क्रमशः सुक्न थालेको र निवासभित्रै सामान्य हिँड्ने तथा केहीबेर कुराकानी गर्ने अवस्था बन्दै गएको ओलीको सचिवालयले जनाएको छ । इन्फेक्सन हुन नदिन चिकित्सकको सुझावअनुसार ओलीले कम्मरमा ठुलो आकारको पेटी पनि बाँध्ने गरेका छन् । डा. दिव्या सिंहसहितको चिकित्सकको टोलीले घाउ सफा गर्नेसहित नियमित स्वास्थ्य फलोअप गरिरहेका छन् ।
स्टोनसँगै हर्नियाको पनि अप्रेसन भएको र त्यसमै इन्फेक्सनका कारण ओली वैशाख पहिलो सातादेखि नै निवासबाहिर निस्किन सकेका थिएनन् । जसले गर्दा एमालेको चुनावी आन्तरिक समीक्षा पनि प्रभावित भएको छ । उपाध्यक्ष पौडेल, महासचिव पोखरेलसहित पदाधिकारी तहकै नेताहरू पनि पार्टीलाई पुनर्गठनमा लैजान ओलीको सम्मानजक बहिर्गमनका पक्षमा रहेकाले उनको उपस्थितिमै बैठक बसाउने योजनामा छन् ।
