श्री विमल पौडेलज्यु मुख्य रजिष्टार,
सर्वोच्च अदालत सादर नमस्कार
सबै भन्दा पहिला तपाईंले दुख र मेहेनतले आर्जन गर्नु भएको शिक्षा र त्यसको प्रयोगको दौरान प्रदर्शित योग्यता , क्षमता मार्फत आर्जित अनुभवलाइ आफ्नो देशको न्याय सेवामा लगाउने यहाँको कामको मुक्त कण्ठले प्रशँसा गर्दछु । नेपालको न्यायिक क्षेत्रमा यहाँले गर्नु भएको योगदान प्रति गर्व गर्दै आगामी दिनमा पनि यहाँलाइ अझै अब्बल रुपमा काम गर्नु हुने आशा गर्नु पक्कै अनुचित हुँदैन भन्ने ठान्छु ।
यहाँलाइ थाहा नै छ अहिले नेपालको न्यायिक क्षेत्रलाइ विभाजित पार्ने , अन्योलमा हाल्ने र नेपालमा न्याय सहज र सम्भव छैन भन्ने भाष्य स्थापित गर्ने कोशिस भैरहेको छ । हुँदा हुँदा विधि पुर्वक दर्ता गर्न सम्मानित सर्वोच्च अदालतमा दर्ता गर्न ल्याइएको मुद्दा समेत कसैको फाइदा वा घाटा हिसाव गरेर दरपिठ गर्ने देखि कर्मचारीहरुले दर्ता नै नगरिदिएको सम्म सुन्नमा आएको छ ।

म अनि म जस्ता तमाम कानुनी राज र स्वतन्त्र न्यायलयमा विश्वास गर्ने सबैलाइ पूर्ण विश्वास छ कि संसारको प्रतिष्ठित शैक्षिक सँस्था Humphrey School of Public Affairs मा Fellowship गरिसकेको विमल पौडेल जत्तिको मानिस मुख्य रजिष्टार भएको हाम्रो मातृभुमि नेपालको सम्मानित अदालतमा मुद्दा दर्ता समेत नगरिने विषय सम्भव नै छैन र हैन ।
तर फेरी जे जसरि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यु समेतले आफुले मुद्दा समेत दर्ता गर्न नपाएको भनेर सार्वजनिक रुपमा भन्दै हुनुहुन्छ त्यसले कहीं कतै तपाईंको जानकारी बिना नै सहि अदालतमा नै न्यायिक अवरोध भैरहेको पो हो कि भन्ने जस्तो देखिएको छ । त्यसैले यहाँको जिम्मेवारिता र स्वतन्त्र न्यायपालिका प्रतिको प्रतिवद्धता प्रति विश्वस्त हुँदै अदालतमा मुद्दा नै दर्ता हुने नदिने जस्ता कार्य हुन बाट रोक्न र त्यसो गर्न खोज्नेहरुलाइ कारवाही गर्न अनुरोध गर्छु ।
मुद्दा दर्ता हुनु अगावै यसको फैसला यस्तो आउँदा के होला वा त्यस्तो आउँदा के होला भन्ने लेखाजोखा गर्ने छुट न्यायलयका कर्मचारीलाइ छैन र हुनुहुदैन भन्ने यहाँले पक्कै बुझ्नु भएकै छ । आशा छ न्यायमा अवरोध अर्थात obstruction of justice कत्तिको गम्भीर अपराध हुन्छ भन्ने विषयमा आफुले बुझेको सत्य सबैलाइ बुझाउँदै न्यायमा अवरोध गर्ने कामको अन्त्य गराउनु होला भन्ने अनुरोध गर्दछु । धन्यवाद
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
