काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसले नेपाल–भारत सीमा समस्याबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भर्त्सना गरेको छ ।
कांग्रेस प्रवक्ता देवराज चालीसेद्वारा आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रहितविपरीत भएको बताइएको छ ।
कांग्रेसले देशको कार्यकारी प्रमुखले कुनै ऐतिहासिक तथ्य र प्रमाणबिना राष्ट्रिय हित प्रतिकूल हुने अभिव्यक्ति दिनु अक्षम्य भएको जनाएको छ । विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको दाबी गरिएको छ ।
कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सीमा क्षेत्रमा देखिएका सामान्य प्राविधिक समस्यासँग तुलना गरेर प्रस्तुत गर्नु गलत भएको जनाएको छ । यस्तो अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान तथा सीमा सम्बन्धी दाबीलाई कमजोर बनाउने काम गरेको आरोप पनि कांग्रेसको छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीले सीमा समस्याका विषयमा बेलायतसँग पनि संवाद भइरहेको भनी गरेको दाबीप्रति समेत आपत्ति जनाइएको छ । कांग्रेसले स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै गरिएको यस्तो टिप्पणीले नेपालको कूटनीतिक परिपक्वतामाथि नै प्रश्न उठाएको उल्लेख गरेको छ ।
कांग्रेसले प्रधानमन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा, राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण वा प्रधानमन्त्रीको व्यक्तिगत विचारमध्ये कुन हो भन्ने विषय स्पष्ट गर्न माग गरेको छ । साथै, प्रधानमन्त्री र सरकारले संसद तथा आमनागरिकसमक्ष तत्काल स्पष्टीकरण दिनुपर्ने माग पनि गरेको छ ।