काठमाडौ, २१ जेठ ।
नेकपा एमालेले छोराछोरी सम्मेलन गर्ने घोषणा गरेको छ ।
विहिबार कार्की ब्याङ्क्वेट बबरमहलमा सम्पन्न केन्द्रीय सङ्गठन विभाको राष्ट्रिय कार्यशालाले त्यस्तो घोषणा गरेको हो ।
१० बुदे सङ्कल्प प्रस्ताव पारित गर्दै एमालेले त्यस्तो सम्मेलन सबै कमिटीहरुले पार्टी आवद्ध परिवारका छोराछोरीको हुने घोषणा आठौं बुदामा उल्लेख छ ।
“नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ।” प्रस्तावमा भनिएको छ ।
यस्ता छन प्रस्तावहरु :
संकल्प प्रस्ताव
नेकपा एमाले
केन्द्रीय संगठन विभाग
पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला
१. यो कार्यशाला पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गर्दछ।
२. यो कार्यशालामा १ संगठित सदस्यले न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गर्दछ।
३. यो कार्यशाला गत प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरूलाई पुनः पार्टीका सकृय हुन आह्वान गर्दछ।
४. यो कार्यशाला “ठिक समय एमाले समय” भन्ने नारालाई यथार्थमा रूपान्तरित गर्न हरेक कार्यक्रम तोकिएको समयमा आरम्भ गर्ने संकल्प गर्दछ।
५. यो कार्यशाला विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सकृय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने संकल्प गर्दछ।
६. यो कार्यशाला सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिंगो पार्टीलाई पुनर्जागृत गर्ने संकल्प गर्दछ।
७. यो कार्यशाला पार्टी आबद्ध जनसंगठनहरूलाई आफ्नो समुदायका मुद्दाहरूको नेता संगठन बनाउने र सांगठनिक रूपमा केन्द्रदेखि आधारसम्म पुनर्गठन गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दछ।
८. नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ।
९. यो कार्यशाला केन्द्रीय सम्पर्क समन्वय समिति र यस मातहतको संरचनालाई उच्च महत्वका साथ परिचालन गरी भूगोल र उपत्यकाको पार्टी कामलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने संकल्प गर्दछ।
१०. यो कार्यशाला हरेक कमिटीले अनलाइन र सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरी प्रवास समितिले सम्पर्कमा राख्ने र स्थानीय कमिटीहरूले पनि प्रवासमा रहेका युवाहरूको समूह निर्माण गरी निरन्तर सम्पर्कमा राख्ने र उनीहरूको अनुभव र विज्ञताको उपयोग गर्ने रणनीति लिने संकल्प गर्दछ।
धन्यवाद प्रस्ताव
१. कार्यशालामा स्वास्थ्यको प्रतिकूलताका बाबजुद पार्टी अध्यक्षको सम्बोधन रह्यो, पार्टीका उपाध्यक्षहरू, महासचिव र अधिकांश पदाधिकारीहरूको उपस्थिति रह्यो। छोटो समय र तयारीमा आयोजना गरिएको यस कार्यशालामा विभागको यस कार्यशालामा सहभागी हुन आउनु भएका सबै सहभागीहरूलाई विभागको तर्फबाट पार्टी नेता तथा सम्पूर्ण सहभागी कमरेडहरूमा यो कार्यशाला हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
२. व्यवस्थापनको कार्यमा आवश्यक सहजीकरण गर्ने पार्टी केन्द्रीय कार्यालय, विभागको प्राविधिक कामको संयोजन गर्ने कार्यालयको टिम र संगठन विभागका सदस्यहरू जसको सहयोग र समन्वयमा यो कार्यशाला सम्पन्न भएको छ। म यस अभियानमा सहयोग गर्ने सबै सहकर्मी सहयोगीप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु।
भानुभक्त ढकाल
प्रमुख
केन्द्रीय संगठन विभाग
