काठमाडौं, असार २१ ।
परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन् ।
रास्वपाका अध्यक्ष रवी लामिछाने भारत भ्रमणमै रहेका बेला खनाल भारतीय सरकारको निमन्त्रणामा शुक्रवार नयाँ दिल्ली पुग्दैछन । लामिछाने शुक्रवार भ्रमण पूरा गरि फर्किदैछन ।
परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री डा एस. जयशंकर को मैत्रीपूर्ण निमन्त्रणामा उनको भारत भ्रमण हुन लागेको जानकारी दिएको छ।
मन्त्रालयको विग्यप्तिमा भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भेटमा व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र जनस्तरका सम्बन्ध लगायतका आपसी हितका विषयमा छलफल हुने जनाइएको छ।
दुवै देशबीच भइरहने उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका रूपमा यो भ्रमणलाई हेरिएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनाल आइतवार स्वदेश फर्कनेछन ।
