काठमाडौ, ५ असार ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले शुक्रबार बिहान ८ बजे बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बताए ।
नतिजा अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षभन्दा धेरै हो ।
वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए।
परीक्षामा सहभागीमध्ये ३ लाख ३२ हजार २४१ जना नियमित तथा ८५ हजार ९२९ जना आंशिकतर्फका विद्यार्थी रहेका छन्।
सरकारले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो। तर बोर्डले निर्धारित समयसीमाभन्दा छिटो नै नतिजा सार्वजनिक गरेको हो ।
