काठमाडौं, १५ भदौ । भोटेकोशी र त्रिशूली नदीलगायतका क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेकपा एमालेले प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग परिचालन गर्ने निर्णय गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गर्नुभएको प्रेस वक्तव्यमा विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री संकलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनःस्थापनाका लागि पार्टीको सचिव महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरिएको जानकारी दिइएको छ।
एमालेले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण विशेषगरी रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको जनाएको छ। प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
४० सदस्यीय समिति
एमालेले राहत तथा उद्धार अभियानलाई व्यवस्थित बनाउन गठन गरेको समितिमा पार्टीका केन्द्रीय नेतादेखि प्रदेश, जिल्ला तथा विभिन्न जनसंगठनका पदाधिकारीसम्मलाई समेटेको छ। समितिको संयोजकमा पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत रहनुभएको छ। समितिका सदस्यहरूमा—
१. विनोद श्रेष्ठ — जिफन्ट अध्यक्ष
२. निरु पाल — युवा भोलेन्टियर्स फोर्स इन्चार्ज
३. निरज आचार्य — प्रचार विभाग प्रमुख
४. डा. भीष्म अधिकारी — केन्द्रीय कार्यालय सचिव
५. केशव पाण्डे — नुवाकोट इन्चार्ज
६. प्रेम तामाङ — रसुवा इन्चार्ज
७. भूमि त्रिपाठी — धादिङ इन्चार्ज
८. रामेश्वर फुयाल — काठमाडौं इन्चार्ज
९. हरिकृष्ण व्यञ्जनकार — ललितपुर इन्चार्ज
१०. शकुन्तला राजभण्डारी — भक्तपुर इन्चार्ज
११. देवी जावली — चितवन इन्चार्ज
१२. जनक चौधरी — जिफन्ट इन्चार्ज
१३. क्षितिज थेबे — युवा संघ इन्चार्ज
१४. रूपनारायण श्रेष्ठ — सल्लाहकार परिषद् सदस्य
१५. कैलाश ढुंगेल — बागमती प्रदेश अध्यक्ष
१६. नारायण सिलवाल — राजधानी विशेष कमिटी अध्यक्ष
१७. विनोद पाण्डे — पूर्वसैनिक तथा प्रहरी संगठन अध्यक्ष
१८. पासाङ शेर्पा — जनजाति महासंघ अध्यक्ष
१९. गणेश पाण्डे — प्रेस चौतारी नेपाल अध्यक्ष
२०. महाराज गुरुङ — युवा संघ अध्यक्ष
२१. दीपक धामी — अनेरास्ववियु अध्यक्ष
२२. पुष्प श्रेष्ठ — युवा भोलेन्टियर्स फोर्स अध्यक्ष
२३. दिपेन्द्र दाहाल — खेलकुद महासंघ अध्यक्ष
२४. गणेश बस्नेत — प्रेस चौतारी नेपाल निवर्तमान अध्यक्ष
२५. श्रीधर आचार्य — पार्टी प्रचार विभाग सदस्य
२६. दावा लामा — बागमती प्रदेश उपाध्यक्ष
२७. बालकृष्ण देउजा — बागमती प्रदेश सचिव
२८. भक्तकुमारी लामा — बागमती प्रदेश उपसचिव
२९. रमेश आचार्य — बागमती प्रदेश उपसचिव
३०. प्रेम महर्जन — राजधानी विशेष कमिटी उपाध्यक्ष
३१. मिलन धरेल — राजधानी प्रदेश सचिव
३२. बेलीमाया घले — राजधानी प्रदेश उपसचिव
३३. शशि जंग थापा — राजधानी प्रदेश उपसचिव
३४. कैशान तामाङ — रसुवा जिल्ला कार्यवाहक अध्यक्ष
३५. बद्री मैनाली — नुवाकोट जिल्ला अध्यक्ष
३६. अर्जुन श्रेष्ठ — धादिङ जिल्ला कार्यवाहक अध्यक्ष
३७. कमल पाठक — चितवन जिल्ला अध्यक्ष
३८. पुरुषोत्तम आचार्य — ललितपुर जिल्ला अध्यक्ष
३९. दीपक निरौला — काठमाडौं जिल्ला अध्यक्ष
४०. बचन देउजा — भक्तपुर जिल्ला अध्यक्ष रहनुभएको छ।
रसुवा, नुवाकोट र धादिङ–चितवनमा छुट्टाछुट्टै जिम्मेवारी
एमालेले राहत तथा उद्धार अभियानलाई प्रभावित जिल्लाको आवश्यकता र अवस्थाअनुसार सञ्चालन गर्न जिल्लागत जिम्मेवारीसमेत तोकेको छ।
रसुवा जिल्लाको संयोजन विनोद श्रेष्ठले गर्नुहुने भएकाे छ। उहाँको नेतृत्वमा जिफन्ट, युवा संघ, अनेरास्ववियु, जनजाति महासंघ, रसुवा जिल्ला पार्टी कमिटी, गणेश पाण्डे तथा भक्तकुमारी लामालगायतको टोली परिचालन गरी उद्धार तथा राहत कार्य सञ्चालन गरिनेछ।
त्यस्तै नुवाकोटको संयोजन रूपनारायण श्रेष्ठले गर्नुहुनेछ। उहाँको नेतृत्वमा युवा भोलेन्टियर्स फोर्स, खेलकुद महासंघ, नुवाकोट जिल्ला पार्टी कमिटी, गणेश बस्नेत, देवराज राई तथा विष्णु तामाङलगायतको टोली परिचालन गरिने पार्टीले जनाएको छ।
धादिङ र चितवन जिल्लाको संयोजन रमेश आचार्यले गर्नुहुनेछ। उहाँको नेतृत्वमा पूर्वसैनिक तथा प्रहरी संगठन, अखिल नेपाल महिला संघ, रिटर्नी फेडेरेसन, सम्बन्धित जिल्ला कमिटी तथा बागमती प्रदेशका जनसंगठन सञ्जाललाई परिचालन गरिनेछ।
केन्द्रीय तहमा पनि जिम्मेवारी बाँडफाँट
एमालेले राहत अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय तहमा समेत विभिन्न जिम्मेवारी तोकेको छ।
पार्टीका सचिव डा. राजन भट्टराईलाई संघीय सरकारसँग समन्वयको जिम्मेवारी दिइएको छ। त्यस्तै निरज आचार्यलाई प्रचार–प्रसार संयोजन, डा. भीष्म अधिकारीलाई आर्थिक व्यवस्थापन, विनोद श्रेष्ठलाई स्वयंसेवक परिचालन, नारायण सिलवाललाई कार्यालय व्यवस्थापन तथा कैलाश ढुंगेललाई राहत संकलन संयोजनको जिम्मेवारी दिइएको छ।
पीडितको आवश्यकता पहिचान गरेर राहत
एमालेले प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत सामग्रीको पहिचान गरी संकलन, ढुवानी तथा वितरण गर्ने जनाएको छ। त्यसका लागि सरकारी निकाय, स्थानीय तह तथा पार्टीका सबै तहका कमिटीसँग समन्वय गरिने भएकाे छ।
पार्टीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत सम्बन्धित जिल्लाको आवश्यकताअनुसार प्रत्यक्ष रूपमा राहत तथा उद्धार कार्यमा जोडिने निर्णय गरिएको छ।
यसैगरी विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्दै केन्द्रीय उद्धार तथा राहत टोलीलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्ने एमालेले जनाएको छ।
बिहानैदेखि प्रभावित क्षेत्रमा केन्द्रीय टोली
एमालेले प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर उद्धार तथा राहत अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको छ। पार्टीको केन्द्रीय उद्धार तथा राहत टोली भोलि बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ प्रस्थान गर्ने जनाएको छ।
अध्यक्ष ओलीले विपद्को यस कठिन घडीमा पार्टी पंक्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी सबैलाई उद्धार र राहत अभियानमा एकजुट भएर सहभागी हुन आह्वान गर्नुभएको छ।
एमालेका अनुसार १ करोड २० लाख रुपैयाँको सहयोग परिचालन केवल आर्थिक सहयोग संकलनमा सीमित नरही प्रभावित नागरिकको तत्काल आवश्यकता पहिचान, राहत सामग्रीको व्यवस्थापन, उद्धार, स्वास्थ्य तथा मानवीय सहायता र पुनःस्थापनासम्म केन्द्रित हुनेछ।


