काठमाडौं, १७ भदौ । भोटेकोसी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहमा फसेका र सम्पर्कविहीन भएकाहरूको उद्धारमा एक सातासम्म पनि उल्लेख्य प्रगति हुन सकेको छैन। सुरुङभित्र पसेको लेदो, थुप्रिएको माटो, बढ्दो नदीको सतह र घटनास्थलसम्म आवश्यक भारी उपकरण पुर्याउन नसक्दा उद्धार टोलीले सफलता पाउन सकेको छैन। पहिले पहुँचमार्ग नै बनाउनुपर्ने अवस्था आएको उद्धारमा खटिएकाहरूको भनाइ छ।
माथिल्लो त्रिशूली–३ ‘ए’, चिलिमे, रसुवागढी, लाङटाङ खोला, त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ लगायतका आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धार प्रयास जारी रहे पनि धेरै आयोजनामा सुरुङ वा विद्युत्गृह भित्रसम्म उद्धारकर्ता पुग्न सकेका छैनन्। कतिपय आयोजनामा सात दिन बितिसक्दा पनि हराइरहेकाहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। भारत, चीन र दक्षिण कोरियाबाट आएका उद्धार टोली पनि विनाश देखेर आत्तिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
‘विदेशी उद्धार टोली नै अवस्था देखेर आत्तिएको छ। तैपनि नेपाली सेनासहित उनीहरू उद्धारमा तल्लीन भएर लागेका छन्। सरकार हरसम्भव प्रयत्न गरिरहेको छ। सबै प्रयास गर्छौं,’ उनले भने।
माथिल्लो त्रिशूली–३ ‘ए’मा चार स्काभेटरबाट सुरुङ खोल्ने प्रयास
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा फसेकाहरूको उद्धारका लागि मंगलबार पनि विज्ञ तथा प्राविधिक टोलीले काम जारी राखेको छ। तर अहिलेसम्म कसैलाई उद्धार गर्न सकिएको छैन।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङभित्र उद्धारकर्ता पठाउन ड्रिलिङ तथा खन्ने कामका लागि चार वटा स्काभेटर परिचालन गरिएको छ। सुरुङभित्र जमेको पानी बाहिर निकाल्न ‘गली कटिङ’ गर्ने तथा ढुंगामाटो पन्छाउने काम पनि निरन्तर भइरहेको छ।
उद्धारलाई थप प्रभावकारी बनाउन विद्युत्गृह निर्माणका क्रममा प्रत्यक्ष संलग्न भएका अनुभवी विज्ञहरूलाई समेत परिचालन गर्नेबारे छलफल भइरहेको प्राधिकरणले जनाएको छ।
चिलिमेमा उपकरण लैजानै नसक्दा उद्धार प्रभावित
२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृहमा फसेकाहरूको उद्धारमा पनि मंगलबार उल्लेख्य प्रगति हुन सकेन। चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार भारतीय उद्धार टोली, नेपाली सेना लगायतले विद्युत्गृहसम्म पुग्ने मार्ग सफा गर्ने काम गरेका छन्।
तर विद्युत्गृहको सुरुङसम्म आवश्यक मेसिनरी तथा उपकरण लैजान नसक्दा उद्धार कठिन बनेको छ। बाढीको लेदो र हिलो सफा गरेर विद्युत्गृहभित्र पहुँच बनाउनु नै मुख्य चुनौती बनेको महर्जनले बताए।
प्रवर्द्धक कम्पनीले आफ्नै पहलमा पहुँच बनाउने प्रयास गरिरहेको छ। तर मेसिनरी उपकरणबिनै विद्युत्गृहभित्र पुग्न कठिन भएपछि उद्धारका लागि पुगेको शेर्पाहरूको समूहसमेत फर्किएको छ। वर्षाका कारण नदीको पानीको सतह बढिरहेकाले उद्धार टोलीलाई काम गर्न थप समस्या भइरहेको छ।
रसुवागढीमा ९१ जना अझै बेपत्ता
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट हराइरहेका ९१ जनाको अवस्था मंगलबारसम्म पनि अज्ञात छ। सोमबार नेपाली सेना नेतृत्वको टोलीले स्थलगत अवलोकन गरी विद्युत्गृहको सुरुङभित्र कोही नरहेको निष्कर्षसहित फर्किएपछि थप उद्धार कार्य अघि बढ्न सकेको छैन।
प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीले आवश्यक उपकरणसहित खोजी तथा उद्धारका लागि पहल गरिरहेको जनाएको छ। तर सात दिनसम्म पनि हराइरहेकाहरूको खोजी प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि आफन्तहरू आक्रोशित बन्न थालेका छन्।
आयोजना स्थलमा प्रोटोकलमा रहेका बाहेक अन्य व्यक्तिलाई प्रवेश गर्न नदिइएकाले पनि उद्धार तथा राहतमा अपेक्षित प्रगति हुन नसकेको गुनासो छ। कम्पनीले मंगलबार स्काभेटर खरिद गरी बुधबार रसुवा पुर्याएर उद्धारलाई तीव्रता दिने तयारी गरेको जनाएको छ।
लाङटाङ खोलामा १३ विज्ञ परिचालन हुँदै
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि बुधबारदेखि १३ जना प्राविधिक तथा विज्ञ परिचालन गरिने भएको छ। उनीहरू आयोजना स्थलमै बसेर खोजी तथा उद्धारमा खटिनेछन्।
आयोजनाको पेनस्टकमा कंक्रिटिङका लागि पहुँच सुरुङमा गएका सात जना त्यहीँ फसेको अनुमान गरिएको छ। आयोजनाबाट यसअघि १९ जनाको उद्धार भइसकेको छ भने ४१ जना अझै सम्पर्कविहीन छन्।
प्रवर्द्धक विजयमोहन भट्टराईका अनुसार १३ जना प्राविधिक तथा विज्ञको टोली परिचालन गरेपछि पनि त्यसको परिणाम देखिन तीनदेखि चार दिन लाग्नेछ।
त्रिशूली–३ ‘बी’मा १४१ जना हराइरहेका छन्
३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनामा पनि मंगलबार खोजी तथा उद्धार जारी रह्यो। प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीका अनुसार निर्माण कम्पनी, परामर्शदाता तथा प्रवर्द्धक कम्पनीमा कार्यरत गरी १४१ जना अझै सम्पर्कविहीन छन्।
निर्माण कम्पनीले सुरुमा ११० जना सम्पर्कविहीन रहेको जनाएको थियो। पछि केही व्यक्ति सम्पर्कमा आएपछि बाँकी हराइरहेको संख्या अद्यावधिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हराइरहेकामध्ये २१ जना कर्मचारी, सात कर्मचारीका परिवारका सदस्य, परामर्शदाता कम्पनीका १२ जना, एक सुरक्षा गार्ड, चार चिनियाँसहित ६ जना तथा काठमाडौं विश्वविद्यालयका तीन विद्यार्थी छन्। सुरुङमा फसेका २३ जना भने यसअघि आफैँ बाहिर निस्किएका छन्। अहिलेसम्म पाँच जनाको शव फेला परेको कम्पनीले जनाएको छ।
माथिल्लो त्रिशूली–१ मा पनि सुरुङभित्र खोजी तीव्र
माथिल्लो त्रिशूली–१ आयोजनामा पनि बाढीको दिन कार्यरत १ हजार ४३३ जनामध्ये उद्धार तथा सम्पर्कमा आएका ८७६ जना रहेको कम्पनीले जनाएको छ। बाँकीमध्ये कम्पनीका १५, ईपीसी निर्माण कम्पनी दुसानका ७८, एन्ड्रिज हाइड्रोका ९४, परामर्शदाता कम्पनी ल्याम्येर र जेड जीभीका सात तथा सिभिल सब–कन्ट्र्याक्टर पावर चाइनाका ३८५ जना हराइरहेको कम्पनीको विवरण छ।


