काठमाडौँ, असोज ६ । सोमबार पदभर ग्रहण गरेका शिक्षामन्त्री महावीर पुनलाई मंगलबारदेखि नै मन्त्रालयमै खाने र बस्ने व्यवस्था हुने भएको छ। जेन–जी आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालय आगजनीबाट ध्वस्त भएपछि केशरमहलमा आएका उनलाई त्यही खाने र बस्न व्यवस्था हुन लागेको हो।
मन्त्री पुनको आग्रहअनुसार मंगलबारदेखि नै मन्त्रालयभित्रै खाने र बस्नेको व्यवस्था मिलाइएका शिक्षा उपसचिव केदार कोइरालाले बताए । ‘मन्त्री ज्यूले मन्त्रालयमै बसेर काम गर्ने भन्नु भयो,’ उनले भने। ‘भोलि (मंगलबार)देखि खाने र बस्ने समेतको व्यवस्था केशरमहलमै हुन्छ ।’
यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका थिए । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे।
अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ। समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरूको नाम पछि टुङ्गो लगाइने जनाइएको छ।
