o राप्रपा, एमाले, कांग्रेस हुदै प्रचण्ड परिवारसँग कनेक्सनपछि संचार मन्त्री
० पर्दाबाहिर कार्यक्रम संचालक, युएसएडसहित आइएनजिओ–एनजिओको डकुमेन्ट्री निर्माणदेखि टिभी टक सो प्रस्तोतासम्मको अनुभव
० पर्दाभित्र राप्रपा, एमालेहुँदै कांग्रेसको कार्यकर्ता
काठमाडौं । संचार क्षेत्रका दिग्जज हस्ती तथा नेपालका बहुचर्चित दर्जनौं वरिष्ठ पत्रकारहरुलाई चक्मा दिँदै टक सो प्रस्तोता इमेज टिभीका समाचार प्रमुख जगदिश खरेल अन्ततः संचार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन् ।
नेपाली पत्रकारितामा उनीभन्दा अब्बल, व्यवसायिक र सिनियर पत्रकारहरु दर्जनौं होइन, सैयौंको संख्यामा छन् । तर, जेनजी आन्दोलनबाट सत्ता पलटसँगै देश करिब खरानीकै अबस्थामा पुगेका बेला खरेल नै कसरी प्रधानमन्त्री सुशीला कार्कीको रोजाईमा परे ? अहिले सर्वत्र चासो र जिज्ञाशा छ ।
त्यसो त, मन्त्री पद आफैंमा राजनीतिक पद भएका कारण अन्तरिमकाल (६ महिनाका) लागि गैरराजनीतिक व्यक्तिले अकास्मात जिम्मेवारी पाएका कारण पनि सर्वत्र चासो र जिज्ञाशा हुनुलाई अन्य अर्थमा लिनुपर्ने कारण पनि छैन ।
मन्त्रिपरिषद्को इतिहासमा पत्रकारिता पृष्ठभूमिका खरेल जस्ता धेरै कम व्यक्तिले मात्र संचार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
होमनाथ दाहाल, जयप्रकाश गुप्ता, श्रीष समशेर राणा र गोकूल बाँस्कोटालगायत पूर्व पत्रकार भए पनि ग्राउण्डदेखि नै संघर्ष गर्दै आफ्नै वलबुतामा राजनीतिक दलका नेताका रुपमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि स्थापित थिए ।
बाँस्कोटाले त अहिलेसम्म कुनै पनि संचारमन्त्रीहरुले गर्न नसकेको काम नेपाली श्रमजीवी पत्रकारहरुको हक हितका पक्षमा गरेर कहिल्यै बिर्सन नसक्ने गुण लगाएर इतिहामा नाम लेखाएका छन् ।
७० करोडको कमिशन डिलिङको अडियो रेकर्डिङ (अप्रमाणित अफावाह) छाड्ने हो भने नेपाली फिल्म, विज्ञापन बजार वलियो बनाउनेदेखि, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको काम उनकै पालामा केही हदसम्म सुरु भएको थियो । पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिनैपर्ने बाध्यकारी व्यबस्था उनले नै लागू गरेका थिए ।
त्यसलाई तहगत जिम्मेवारीअनुसार पनि न्यूनतम पारिश्रमिक फरक फरक हुनुपर्ने अर्को बाध्यकारी व्यबस्था पनि लागू गरेर पूर्ण कार्यान्वयनतर्फ लैजाने आँट गर्दागर्दै अडियो काण्ड बाहिरिएर उनले नैतिकता आधारमा राजीनामा दिनुपरेको थियो । उनैले सम्हालेको पदमा खासमा पर्दा बाहिरको पार्टीको जिम्मेवारीमा कतै नदेखिएका खरेल मन्त्री बन्दा राष्ट्रिय–अन्तराष्ट्रिय चर्चा चुलिएको छ ।

खरेललाई नजिक र भित्रैबाट बुझ्नेहरुले भने महत्वकांक्षी र फड्को हान्दै जुनसुकै शक्ति केन्द्रहरुमा सम्बन्ध बनाउन सिपालु उनले मन्त्रीको जिम्मेवारीसम्म पुग्नुलाई आश्चर्य मान्नुपर्ने खास कारण रहेको बताउने गर्छन् ।
किनभने राजनीतिको ठूलो पदमा नपुगे पनि दुई दशकको पत्रकारितामै उनले तीनओटा पार्टीको कार्यकर्ता बनेर सदस्यता मात्र लिएका छैनन्, पछिल्लो पटक त प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नै धेरै राम्रो सम्बन्ध बनाएका छन् । नेपालका धेरै सिनियर चर्चित पत्रकारहरुको सिधा पहुँच नरहेको सम्बन्ध खरेललले प्रचण्डसँग बनाउन सकेका छन् ।
प्रशंसाको बाढी, वैचारिक धार छुट्याउन समस्या
मन्त्री बनेपछि खरेलको क्षमताको उनका सहपाठी पत्रकार गोबिन्द खड्कासहित थुप्रैले सामाजिक सजालहरुबाट खुलेर प्रशंसा गरेका छन् । कसैले सामाजिक संजालमा उनलाई प्रेस चौतारीको सदस्य ठानेका छन् त कसैले प्रेस युनियनको ।
कसैले कांग्रेसका क्रियाशील सदस्यहरुको सूचिमा रहेको उनको नाम सार्बजनिक गरिरहेका छन् त कसैले कांग्रेसको वडा समितिले आयोजना गरेको कार्यक्रममा खादा लगाएर कांग्रेस प्रवेश गरेका तस्वीरहरु ।
त्यही क्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रमेश खतिवडाले नागरिक दैनिकका लागि लेखेको समाचार पनि सामाजिक संजालहरुमा भाईरल भइरहेको छ । प्रेस चौतारीका वरिष्ठ नेता विश्वमणि सुबेदीले चौतारीको सदस्य रहेको बताएका छन् । उनी निकट छिमेकी कालिका पाठकले विगत जे जस्तो भए पनि संकटका बेला सुनखानीको इज्जत्त धानेर काम गर्न सुझाएकी छिन् ।
आखिर को हुन् त उनी ? खरेलका छिमेकी कांग्रेस, एमालेका सदस्य र कलेजका सहपाठीहरुले उनको पृष्ठभूमि नेपाल चर्चालाई जानकारी दिएका छन् ।
विद्यार्थीकालदेखि राप्रविसंघ, अखिल, एमाले हुँदै कांग्रेस प्रतिनिधि निर्वाचित
स्कुले जिवनमा दोलखामा राप्रपा निकट राप्रविसंघको जिल्ला नेतृत्वमै रहेर काम गरेका खरेल २०५५ मा एसएलसी दिएर काठमाडौं आएपछि पत्रकारिता अध्ययनका लागि रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा भर्ना भए ।
०३६ देखि नै अनेरास्ववियुको गढका रुपमा स्थापित त्यहाँ दुई तिहाई विद्यार्थी अखिल समर्थक हुने भएकाले साथीभाईकै संगतले संगठनको निकट बनेर समर्थक बने र विचारमा पनि फेरिए ।
सिआइएनहुदै नेपाल एफएमका समाचार प्रमुख रहेका गोबिन्द खड्काका ब्याची खरेल उद्घोषणतिर भने सानैदेखि रुचि राख्थे । अखिलको संगतका कारण उनी ०५८÷०५९ मा अनेरास्ववियु दोलखा–काठमाडौं सम्पर्क कमिटीको सदस्य बने ।
हालका त्रिभुवन विश्वविद्यालय केन्द्रीय कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीको नेतृत्वमा उनले अखिलको कमिटीमा बसेर काम गरेका थिए । त्यसक्रममै उनको परिचय दोलखाका एमाले नेताहरु पशुपति चौंलागाईं, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेलहरुमार्फत पनि बिस्तारित हुँदै गयो ।
काठमाडौं आएर क्याम्पस पढ्दै गर्दा कान्छो मामा रमेश खड्का (सिनियर पत्रकार÷डकुमेन्ट्री निर्मार्ता)को कार्यालयमा क्यामेरा चलाउन सिकेर टेलिभिजन पत्रकारितामा प्रवेश गरेका खरेलले दोस्रो जनआन्दोलनपछि एमाले सम्बद्ध प्रेस चौतारी नेपालको सदस्यता पनि लिएका थिए ।
विभिन्न मिडियाबाट चौतारीले आबद्ध पत्रकारहरुलाई छलफलका लागि बोलाउँदा खरेल पनि सुरज आचार्यहरुसँगै इमेज टिभी शाखाबाट प्रतिनिधित्व गर्दै अगुवा कार्यकर्ताकै रुपमा बाक्लो रुपमा जाने गर्थे । सोही कारण इमेज टिभीमा लामो समय नेतृत्व सम्हालेका डा. महेन्द्र विष्टले पनि उनलाई भित्री रुप्मा एमालेकै कार्यकर्ताका रुपमा हेर्ने, बुझ्ने गर्थे ।

टक सो चलेका कारण पनि टिभी संचालक, विष्ट र सिनियरहरुले उनलाई नकार्न सक्दैनथे । इमेजमा लामो समय टक सो चलाएर राम्रो अन्र्तवर्ता प्रस्तोताका रुपमा सार्बजनिक छवी निर्माण गरेका खरेलले बीचैमा चौतारीका तर्फबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य उम्मेद्वार बन्ने रुचि पनि राखेका थिए ।
तर, चौतारीकै तर्फबाट एक दर्जन सिनियर पत्रकार आकांक्षी रहेको र दोलखाकै उनीभन्दा सिनियर बालकृष्ण बस्नेतले आफू चौतारीबाट बिद्रोही बनेर भए पनि उम्मेद्वार बनेर अघि बढ्न भित्री झेल गरेर खरेललाई रोक्न सफल भएका थिए ।
त्यसो त, दोलखाली पत्रकार समाजमा बस्नेत नै अध्यक्ष हुँदा पनि त्यही कमिटीमा उनकै मातहत सचिव बन्ने उनको धोको पूरा भएको थिएन । पछिल्लो पटक समाजको अध्यक्षमा रुचि राखे पनि चौतारीको सदस्य भएकाले प्रेस युनियन निकट पत्रकारले स्वीकार नगर्ने र मतदान हुँदा धेरै मतले हार्ने निश्चित भएपछि उम्मेद्वारी नै नदिई पछि हटेका थिए ।
त्यसबेला गणेश बस्नेत र बालकृष्ण बस्नेतहरुको रोजाई चौतारी निकटकै अर्का पत्रकार सन्तोष खड्का परेका थिए । त्यसपछि भने भित्री रुपमा उनी चौतारीसँग टाढा हुन खोज्दै थिए । निष्कृय भएर समाजलाई नै कोल्याप्स हुने अबस्थामा खड्काले पु¥याएपछि सिनियरहरुको अनुरोधमा अध्यक्ष बन्ने उनको चाहना फेरि पनि पूरा भएको थिएन । हाल पुनर्गठित समाजको अध्यक्ष भने फोटोपत्रकार ज्ञानेन्द्र कार्की छन् । उनले खरेलले आफूसँग चुनाव लड्ने आँट नगरेको समाजभित्रका सदस्यहरुलाई बताउने गरेका छन् ।
एमाले छोडेर अनि बने कांग्रेस कार्यकर्ता….
०७४ को निर्वाचनपछि गोकूल बाँस्कोटा संचार मन्त्री थिए । तर, अडियो काण्डका कारण उनले राजीनामा दिएपछि दोलखाबाट प्रतिनिधित्व गर्दै एमाले सांसद पार्वत गुरुङ संचार तथा सूचना प्रविधि मन्त्री बनेका थिए । त्यसपछि मामा रमेशको साथीकोसमेत नाता लगाउँदै मन्त्री गुरुङलाई भेटघाट गर्ने गर्थे ।

त्यतिबेला उनको स्वार्थ थियो–मामा रमेश खड्कलाई जसरी पनि नेपाल टेलिभिजनको संचालक समिति अध्यक्ष बनाउनु । खड्का जिल्लाबासी भए पनि एमाले सदस्य थिएनन्, त्यसैले गुरुङले चाहेर पनि बनाउनसक्ने स्थिति थिएन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डा. महेन्द्र विष्टको नाममा निर्णय गर्न भनेपछि खड्काको च्याप्टर त्यतिबेलै बन्द भएको थियो । त्यसपछि भने गुरुङसँग रिसाएका खरेल ठीक ६ महिनाकै बीचमा गृह गाउँ सुनखानी, दोलखा फर्किएर कांग्रेस प्रवेश गरेका थिए ।
खासमा उनले गुरुङसहित एमालेका केही नेतालाई मात्र एमाले छाडेको देखाउनु थियो । तर, एमालेभित्र कुनै कमिटीमा नभएकाले खरेलको कांग्रेस प्रवेशको विषयले चर्चा पाएन । नत ०७९ को पछिल्लो निर्वाचनमा २÷४ भोट प्रभावै पा¥यो । यसको मुख्य कारण थियो, आफूलाई सेलिब्रेटी पत्रकार ठान्ने खरेलले नै एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेको विषय नउठाउन कांग्रेस नेताहरुलाई भनेका थिए ।
कालिञ्चोक ७ कांग्रेसले आयोजना गरेको सानो कार्यक्रममा उनले कांग्रेस जिल्ला उपसभापति तथा हाल गाउँपालिकाका निर्वाचित अध्यक्ष अर्जुनप्रसाद शिबाकोटीबाट पार्टी सदस्यता लिए । सदस्यता लिएको केही समयपछि भने उनले पार्टी केन्द्रमै लड्ने महत्वकांक्षा राखेर क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए । उनी निर्वाचित भएको समाचार अहिलेका पत्रकार महासंघका सचिव रमेश खतिवडाले त्यतिबेला नागरिक दैनिक र नागरिक अनलाईनका लागि लेखेका थिए ।
छिमेकी गाउँ सुष्पा क्षमावतीका अजय शिबाकोटी(जो त्यतिबेला प्रेस युनियनका महासचिव थिए) काग्रेस केन्द्रीय सदस्य लड्ने तयारी थाहा पाएपछि उनलाई टक्कर दिएर पछि पार्नकै लागि खरेल प्रतिनिधिमा लडेको उनलाई नजिकबाट चिन्नेहरु भन्ने गर्थे ।
तर, कांग्रेसभित्र भर्खरैको नवआगन्तुक भएका कारण उनी त्यहाँबाट एक कदम पनि अगाडि बढ्नै सकेनन् । त्यसपछि भने कांग्रेसमा पनि कम सकृय भएका खरेल माओवादी अध्यक्ष प्रचण्डको बुहारी बिना मगरसँग बढि सम्पर्कमा थिए । त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीहरुसँग भने अन्तर्राष्ट्रिय परियोजनाहरुको डकुमेन्ट्री निर्माणकै क्रममा राम्रै चिनजानमा थिए ।
उनको मुख्य आम्दानीको स्रोतसमेत डकुमेन्ट्री निर्माण नै हो । टक सोहरुमा पनि खासगरी लोकतन्त्र नेताहरुले बदनाम बनाएको भन्दै ¥याख¥याख्ती प्रश्न सोध्ने गर्थे । पछिल्लो समय डा. महेन्द्र विष्ट इमेज टिभीबाट अलग भएपछि खरेल इमेज टिभीमा हर्ताकर्ताकै रुपमा थिए । त्यहाँ नेपाल पत्रकार महासघ शाखाको अध्यक्ष पनि भइसकेर संचालकहरुसँग पनि राम्रो सम्बन्ध बनाएका थिए । उनै खरेललाई अन्तत ः कार्कीले संचार मन्त्री रोजेकी छिन् र शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
पर्दाबाहिर चिनिएका संचारकर्मी भए पनि पर्दाभित्र स्कुले जीवन र कलेज जीवनहुँदै चारओटा पार्टीको कार्यकर्ता बनेर अनुभव बटुलेका खरेलले श्रमजीवी पत्रकारहरुको पक्षमा बोल्ड निर्णयहरु गर्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्लान् कि, मिडिया संचालकहरुको पक्ष पोषण गर्लान् श्रमजीवी पत्रकारहरुको आशालाई तुषारापात गर्लान् ? त्यो भने आगामी दिनले नै बताउनेछ ।
