काठमाडौँ, २९ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदिप अधिकारीसहित तीन जनाविरुद्ध अभियोग दायर गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरुविरुद्ध आपराधिक षडयन्त्र, आपराधिक लाभ (एक्सटर्सन), हुन्डी कारोबार, विद्युतीय कारोबार र सङ्गठित अपराध निवारण ऐनअन्तर्गत अभियोग दायर गरिएको हो।
प्रहरी अनुसन्धानबाट क्यानका तत्कालीन महानिर्देशक अधिकारीको निर्देशन र मिलेमतोमा अन्य प्रतिवादीहरुले सङ्गठित रुपमा अख्तियार प्रमुख राईलाई धम्की दिएको खुलेको छ। उनीहरुले ‘इजीएन’ नामको आतङ्कवादी सङ्गठनको नाम लिएर राईलाई पदबाट राजीनामा दिन दबाब दिएका थिए। राजीनामा नदिए ज्यानै लिने भन्दै पत्र, ह्वाट्सएप नम्बर र भिडियोमार्फत धम्की दिएर आपराधिक लाभ लिन खोजेको प्रहरीले जनाएको छ।
यस प्रकरणमा प्रहरीले तीन जनालाई मुख्य प्रतिवादी बनाएको छ। अभियोग लाग्नेमा चितवनको खैरहनी नगरपालिका–४ स्थायी घर भइ हाल ललितपुरको खुमलटार बस्ने ४६ वर्षीय प्रदिप अधिकारी रहेका छन्, जो क्यानका तत्कालीन महानिर्देशक हुन्।
त्यसैगरी, काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–१ घर भइ फिलिपिन्समा लुकीछिपी बस्दै आएका ३४ वर्षीय प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ घर भएका ५६ वर्षीय ताराप्रसाद खरेलविरुद्ध पनि प्रहरीले अभियोग दायर गरेको छ।
प्रतिवादीहरुलाई मुलुकी अपराध संहिता, २०७४ र सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत विभिन्न कसुरमा सजायको मागदावी गरिएको छ। प्रहरीका अनुसार प्रकाश पाठकविरुद्ध ज्यान मार्ने आपराधिक षडयन्त्र गरेको, आपराधिक लाभ लिएको, हुन्डीसम्बन्धी कारोबार गरेको, विद्युतीय (इलेक्ट्रोनिक्स) कारोबार ऐन, २०६३ विरुद्धको कसुर र सङ्गठित अपराध निवारण ऐनअन्तर्गत थप सजायको मागदावी गरिएको छ।
त्यस्तै, प्रदिप अधिकारीविरुद्ध पनि आपराधिक षडयन्त्र, आपराधिक लाभ लिन लगाएको, हुन्डी कारोबार र सङ्गठित अपराधअन्तर्गत मुद्दा दायर गरिएको छ। अधिकारी र पाठक दुवै जनालाई एकीकृत कसुरमा समेत थप सजायको मागदावी गरिएको छ।
अर्का प्रतिवादी ताराप्रसाद खरेलविरुद्ध भने आपराधिक लाभ लिन लगाएको, हुन्डीसम्बन्धी कारोबार र सङ्गठित अपराधअन्तर्गत सजाय माग गरिएको छ। उनलाई पनि एकीकृत कसुरबापत थप सजायको मागदावी लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जारी गरेको विज्ञप्तिमा ‘अर्जुनबहादुर शाही, नविन बस्नेत, जगदम्बे गुरु भन्ने सरया किन्नेरा, प्रमोद सेढाई, चाँदमाला श्रेष्ठ, जेनु थापा, रवि सिंघललगायत अन्य कोही कसैको प्रस्तुत मुद्दामा संलग्नता रहे भएको थप तथ्य प्रमाणसहित खुल्न आएका बखत एवम् प्रतिवादीहरू प्रदिप अधिकारी, प्रकाश पाठक र तारा प्रसाद खरेल अन्य थप कसुरमा पनि संलग्नता रहेको भनी खुली आएका बखत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम छुट्टै अनुसन्धान प्रतिवेदन पेस गरिने’ उल्लेख गरिएको छ।
