काठमाडौ, १९ वैशाख ।
एमालेमा नयाँ ध्रुविकरण शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहज रुपमा पद छोड्न नचाहेपछि नयाँ ध्रुविकरण शुरु भएको हो । पुर्व राष्ट्रपति विद्या भण्डारी र नेता इश्वर पोखरेल समूह नजिक युवा विद्यार्थीहरुले आज भेला आयोजना गरेर ओलीलाई सहज रुपमा नेतृत्व छाड्न दबाब दिएका छन ।
नेपाल कमर्श क्याम्पस मिनभवनमा आयोजित भेलामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल निकट चिनिएका युवा नेताहरु पनि पहिलो पटक सामेल भएका छन् । यसले एमालेभित्र तरङ्ग सिर्जना गर्दै नयाँ शिराबाट ध्रुबिकरण शुरु भएको अनुमान गरिएको छ ।
काठमाडौंमा उपलब्ध अगुवा युवा र विद्यार्थी नेताहरु आमन्त्रित भेलाको नेतृत्व राष्ट्रिय युवा संघका पुर्व अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका पुर्व अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य समिक बडाल, अनेरास्ववियुका पुर्व महासचिव तथा एमाले केन्द्रीय सदस्य नरेश रोकाय, अनेरास्ववियुका पुर्व अध्यक्ष डा सुजन कडरियालगायतले गरेका छन ।
भेलामा चुनावी परिणामपछी पार्टीभित्र विकसित परिस्थितीबारे ब्रीफिङ र सुझाव लिने दुबै काम हुने अगुवाई गरिरहेका एक युवा नेताले बताए ।
एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल नै अध्यक्ष केपी ओलीलाई सम्मानजनक बहिर्गमन गराउने पक्षमा उभिएपछि आयोजित भेलालाई अर्थपुर्ण मानिएको छ ।
ओलीलाई हटाउने पक्षमा महासचिव पोखरेल निकट केन्द्रीय सदस्य समिक बडाल नै मैदानमा आएपछी पुर्व राष्ट्रपति भण्डारी समूह र उपाध्यक्ष पौडेल तथा महासचिव पोखरेल एउटै कित्तामा ध्रुविकृत भएको अर्थमै लिइएको छ । उता, उपाध्यक्ष पौडेलले अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङकोसमेतको परामर्शमा केन्द्रिय सदस्यहरूसगको भेट तीब्र पारेका छन ।
अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको अपरेशनपछी भित्री इन्फेक्सनले उनी कम्तीमा एक महिना सकृय बन्न नसक्ने निश्चित देखिएको छ । पार्टी पुनर्गठनमा ओलीको विकल्प खोजि भैरहदा उनको स्वास्थ्यले केन्द्रीय कमिटी बैठक कहिले बस्ने मिति तय हुन सकिरहेको छैन । यस्तै गत्यावरोधबीच एमालेमा बढ्न खोजेको नयाँ ध्रुबिकरणले राष्ट्रिय राजनीती थप तरङ्गित बन्ने निश्चित छ ।
