काठमाडौं, १९ वैशाख । एमालेभित्र अध्यक्ष ओलीलाई सम्मानजनक बर्हिगमन गराउनका लागि केन्द्रीय सदस्यसहितका युवा नेताहरूले काठमाडौंमा पुनर्जागरण भेला गरेर केन्द्रीय कमिटि विघटनको प्रस्ताव गरेका छन्।
मीनभवनमा शनिबार दिउँसो केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहितको उपस्थितिमा पुनर्जागरण भेला गरेर केन्द्रीय कमिटी विघटनको प्रस्ताव गरेका हुन् । उनीहरूले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने विषयमा छलफल र बहस चलाएका हुन्। पछिल्लो पटक विद्या भण्डारी समूहसँग एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलका नेता कार्यकर्ताहरु पनि अध्यक्ष केपी ओलीलाई सम्मानजनक बहिर्गमन गराउने पक्षमा उभिएपछि शनिवार आयोजित भेलालाई अर्थपुर्ण मानिएको छ ।

भेलामा पूर्वकेन्द्रीय सदस्यहरू नवीना लामा, रमेश पौडेल, अनेरास्ववियू पूर्वअध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया, युवा संघ उपमहसचिव उपेन्द्र शाही, अनेरास्ववियु उपमहासचिव कमल जोशी सहभागी थिए । एमालेका युवा नेताहरु रोशन बस्नेत, किरण देउजा लगायतका नेताहरुले अहिलेको नेतृत्वले युवाहरुको मागलाई सम्बोधन गर्न नसक्ने भन्दै केन्द्रीय कमिटीको विघटनको प्रस्ताव गरेका थिए । बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया पुर्नजागरणबारे कार्यपत्र नै प्रस्तुत गरेका थिए । त्यसैगरी पर्यटन व्यवशायी राजेन्द्र सापकोटा पनि अहिलेको नेतृत्वले जनताको भावानालाई बुझ्न नसकेको धारणा राखेका थिए।
यसअघि केही सदस्यले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसमेत संकलन गरेका थिए। नयाँ सरकार गठनपछि अध्यक्ष ओली पक्राउ परेसँगै एमालेभित्र पार्टी पुनर्गठनको माग मुखरित हुन थालेको थियो। पार्टीका केन्द्रीय पदाधिकारीहरू नै पुनर्गठनबारे खुल्न थालेका छन्। केन्द्रीय सचिवालयका अधिकांश नेताहरू पुनर्गठनको पक्षमा देखिएका छन्।



