काठमाडौं असाेज १०
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबारदेखि जारी छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तावित विशेष महाधिवेशनबारे छलफल भइरहँदा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टीभित्रको पारदर्शिता सवालले बैठकमा निकै चर्चा पाएको छ।
बैठकमा केन्द्रीय सदस्य लक्ष्मण पन्तले अध्यक्ष दाहालको ६४ लाखको रोलेक्स घडी र छोरी गंगा दाहालले प्रयोग गर्ने २८ लाखको लुई भिटन ह्यान्डब्यागबारे उठेको प्रश्नलाई लिखित रूपमा प्रस्तुत गर्दै, यसको स्रोत र वैधानिकतामाथि स्पष्ट हुनुपर्ने माग राखेका छन्।
पन्तले मिडियामा आएका विवरण गलत भए त्यसको खण्डन गर्दै सम्बन्धित मिडिया र संसदमा प्रश्न उठाएका कांग्रेस सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिएका छन्। साथै, उपहारका रूपमा प्राप्त भएको भए ती सामग्री बेचेर रकम घाइते योद्धा कोषमा जम्मा गर्न वा प्रधानमन्त्रीका रूपमा प्राप्त उपहार भए सरकारी खजाना बुझाउनुपर्ने प्रस्ताव गरेका छन्।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले उपहार बेचेर लाभ लिएको आरोपलाई उदाहरण दिँदै पन्तले माओवादी नेतृत्वले जीवनशैलीमा पारदर्शिता देखाउनुपर्नेमा जोड दिएका छन्।
उनले बैठकमा नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरण, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को हिसाबकिताब र मालदार मन्त्रालय सम्हालेका नेताहरूको लाभबारे निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरेका छन्।
बैठकमा दाहाल पक्षीय नेताहरूले प्रतिरक्षा गरिरहेका छन् भने विपक्षी नेताहरूले नेतृत्व परिवर्तनको माग चर्को रूपमा उठाएका छन्।
