काठमाडौँ, १० असोज
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्।माओवादी केन्द्रको बैठकमा प्रचण्ड परिवारको विलासी जीवनशैलीमाथि प्रश्न उठेलगत्तै उनले यस्तो घोषणा गरेका हुन्।
माओवादी बैठकमा केन्द्रीय सदस्य लक्ष्मण पन्तले अध्यक्ष दाहालको ६४ लाखको रोलेक्स घडी र छोरी गंगा दाहालले प्रयोग गर्ने २८ लाखको लुई भिटन ह्यान्डब्यागबारे उठेको प्रश्नलाई लिखित रूपमा प्रस्तुत गर्दै, यसको स्रोत र वैधानिकतामाथि स्पष्ट हुनुपर्ने माग राखेका थिए।
केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए ।‘अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ”, दाहालले भने।
सङ्गठनात्मक कार्यशैलीमात्र नभई व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन केके गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशनसमेत दिए।
बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।
