काठमाडौं, असोज २५ गते
नेकपा एमालेको सचिवालय बैठक अचानक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी लागेर वैठक स्थगित भएको भनिएको छ । तर, प्रश्न उठ्न थालेको छ — यो स्वास्थ्य समस्या साँच्चैको हो कि आलोचनाको चपेटामा परेका अध्यक्ष ओलीले समय लिन खोजेका हुन ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठक स्थगित हुनुको कारण ओलीको स्वास्थ्यमा देखिएको समस्या भएको बताए।
अध्यक्षज्यूलाई रुघाखोकीले असहज भएकोले आजको बैठक स्थगित गरिएको हो, अधिकारीको भनाइ छ। स्थगित बैठक अब भोलि बिहान ११ बजे ओली निवास गुण्डुमा पुनः बस्नेछ।
नेतृत्वमाथि बढ्दो असन्तोष
सचिवालयको यो बैठक हिजो (शुक्रबार) बाट सुरु भएको हो, जसमा ९ जना पदाधिकारीले आआफ्नो धारणा राखेका थिए। तीमध्ये ६ जनाले अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए। उनीहरूका अनुसार, अहिलेको नेतृत्वको शैलीले पार्टी अघि बढ्न नसक्ने स्थितिमा पुगेको छ।
बाकी पदाधिकारीले अझै धारणा राख्न बाँकी छ। बैठक सकिएपछि मात्रै केन्द्रीय कमिटीको एजेन्डा टुंगोमा पुग्नेछ।
राजीनामाको माग तीव्र बनिरहेको बेलामा बैठक स्थगित हुनु संयोग मात्रै हो कि रणनीतिक विश्राम यो विषयमा खुलेर कसैले केही भनेका छैनन्। तर बैठकमै अध्यक्षको भूमिकामाथि प्रश्न उठिरहेका बेला बिरामी पर्दा विभिन्न राजनीतिक टिप्पणीहरू भइरहेका छन् ।
कतिपयले पदाधीकारीलाई फकाएर आफ्नो पक्षमा पार्न बैठक सारेको आरोप लगाएका छन् ।
