कञ्चनपुर, असोज २४
कञ्चनपुरका झण्डै ७३ हजार भूमिहीन, दलित र सुकुम्बासी नागरिकको लालपुर्जा पाउने सपना एकाएक चकनाचुर भएको छ। भूमि समस्या समाधान आयोगलाई हालको सरकारले विघटन गरेपछि उनीहरूको जमिनको मालिक बन्ने आशा अधुरै रहन पुगेको हो।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगले कामको तीव्रता देखाउँदै कञ्चनपुरका ७२,९३० भूमिहीनलाई लालपुर्जा वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको थियो। तर, सरकार परिवर्तनसँगै आयोग नै खारेज भएपछि स्थानीयहरू फेरि उही गरिबी र अन्योलको चक्रमा फसेका छन्।
बेलौरी नगरपालिका–९ का अम्मर भारती विगत २० वर्षदेखि एउटै जमिनमा बसेका छन्। “पुर्जा पाउँछु भनेर आशा गरेको थिएँ, पक्की घर बनाउने योजना थियो,” उनी भन्छन्, “अब फेरि उही पुरानै संघर्ष सुरु गर्नुपर्ने भयो।”
बेलौरी नगरपालिकाका मात्रै ५,६०६ भूमिहीन नागरिक लालपुर्जा पाउने तयारीमा थिए। तर आयोग खारेज भएपछि उनीहरूको आशा झल्याँस्स निभेको बलिरहेको दियोझैँ भयो।
भूमि समस्या समाधान आयोग कञ्चनपुरका तत्कालीन अध्यक्ष नेत्रप्रसाद पन्तका अनुसार जिल्लाका पाँच पालिकाका ४९५ परिवारको पुर्जा वितरणको काम अन्तिम चरणमा थियो। आगामी मंसिर महिनासम्म नौ वटै पालिकाका १५ हजार नागरिकलाई पुर्जा दिने योजना रहेको उनले बताए।
“सरकारले आयोग खारेज गरेर नागरिकलाई मात्र हैन, आफूलाई पनि घाटा पुर्यायो,” पन्तले भने। “१५ हजार नागरिकले पुर्जा पाए मालपोतबाट करोडौं राजस्व उठ्थ्यो, त्यो पनि गुम्यो। नागरिकको मानव अधिकार पनि कुण्ठित भयो।”
यस्तो छ तथ्यांक
भूमिहीन दलित २,७६४
भूमिहीन सुकुम्बासी २,९५४
अव्यवस्थित वसोबासी ६७,२१२
सबैभन्दा बढी अव्यवस्थित वसोबासी
कृष्णपुर नगरपालिका – १५,९२६
भीमदत्त नगरपालिका – सुकुम्बासी ८८७, दलित ९२२
नयाँ कित्ता वितरण ९७
२९,३०७ जनाको नक्सा निर्माण र कित्ता वितरण
सरकारप्रति गुनासो बढ्दो
भूमि पाउने पर्खाइमा रहेका नागरिकहरूको आवाज सरकारले नसुनेको गुनासो सर्वत्र सुनिन थालेको छ। “जसले हाम्रो जमिनमा साँचो देखायो, उसैले हक पाउनु पर्ने हो। तर सरकार आफैँले साँचो खोसिदियो,” बेलडाँडी गाउँपालिकाका एक स्थानीयले गुनासो गरे।
लालपुर्जा नपाउँदा नागरिकहरू बैंकबाट ऋण लिन सक्दैनन्, व्यवसाय गर्न सक्दैनन् र घर निर्माणको सपना त झन् टाढाको कुरा भएको छ। कञ्चनपुरका यी ७३ हजार नागरिकका लागि अब भूमिका मालिकु बन्ने सपना अझै कति वर्ष कुर्नुपर्ने हो, त्यो अन्योलमै छ।
