काठमाडौँ, १४ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ मा निर्वाचन प्रक्रिया पूरा नगरी केही व्यक्तिको सहमतिलाई ‘सर्वसम्मति’ भन्दै निर्वाचित घोषणा गरिएको विषयमा असन्तुष्ट उम्मेदवारहरूले औपचारिक उजुरी दर्ता गराएका छन्।
उनीहरूले रोकिएको बाँकी निर्वाचन प्रक्रिया पार्टीको विधान र निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार निष्पक्ष, पारदर्शी तथा सहभागितामूलक रूपमा सम्पन्न गर्न माग गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा दर्ता नं। ३७९–२०८३र६र१४ मा दर्ता भएको निवेदनमा निर्वाचन प्रक्रिया सुरु भइसकेपछि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता तथा उम्मेदवारी शुल्कसमेत संकलन गरिएको अवस्थामा मतदान प्रक्रिया अघि नबढाइएको विषयप्रति गम्भीर असहमति जनाइएको छ।
निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा मतदानको चरणमा नपुगी केही व्यक्तिहरूबीचको सहमतिलाई मात्र सर्वसम्मतिको संज्ञा दिँदै निर्वाचित घोषणा गर्नु लोकतान्त्रिक निर्वाचन पद्धति र उम्मेदवारहरूको अधिकारमाथि प्रश्न उठाउने विषय भएको निवेदनमा उल्लेख छ। आकांक्षी उम्मेदवारहरूले यस्तो कदमप्रति असहमति र खेद व्यक्त गर्दै जिल्ला निर्वाचन समितिमार्फत रोकिएको बाँकी निर्वाचन प्रक्रिया विधानअनुसार सम्पन्न गर्न जोडदार माग गरेका छन्।
उम्मेदवारहरूको भनाइमा, सर्वसम्मति लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष भए पनि त्यसको आधार पारदर्शिता, सहभागिता र विधिसम्मत प्रक्रिया हुनुपर्छ। निर्वाचन प्रक्रिया सुरु गरेर उम्मेदवारी दर्ता र शुल्कसमेत संकलन गरिसकेपछि मतदानको चरणमा नपुगी गरिएको भनिएको सहमतिले उम्मेदवारहरूको अधिकार, कार्यकर्ताको विश्वास र पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न खडा गरेको छ। उक्त निवेदनमा महाधिवेशन प्रतिनिधिका खुला, जनजाति, खसआर्य, दलित, महिला, युवा, श्रमिकलगायत विभिन्न समूह तथा पदका उम्मेदवारहरूले नाम, पद र सम्पर्क नम्बरसहित हस्ताक्षर गरेका छन्।
हस्ताक्षर गर्नेहरूमा प्रकाश थापा, जयकुमार लामा, निराजन लुइँटेल, महेशराज पौडेल, विजय गौतम, रितेन ढकाल, अनिता बजगाईं, उद्धवप्रसाद नेपाल र सहदेव तिमल्सिना लगायत धेरै महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका छन्।
नेपाली कांग्रेसको महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीले अवलम्बन गरेको लोकतान्त्रिक मूल्य, विधि र संस्थागत संस्कारको परीक्षण पनि हो। निर्वाचन प्रक्रियासम्बन्धी विवादलाई निष्पक्ष रूपमा सम्बोधन गर्नु र सम्बन्धित सबै पक्षको अधिकार तथा सहभागिताको सम्मान गर्नु पार्टीभित्रको विश्वास कायम राख्न महत्त्वपूर्ण मानिन्छ।
सहमति लोकतन्त्रको सुन्दर पक्ष हो, तर विधि र प्रक्रियाको विकल्प होइन। लोकतान्त्रिक अभ्यासमा निर्णयको औचित्य त्यसको परिणामले मात्र होइन, निर्णयसम्म पुग्न अपनाइएको प्रक्रिया कति पारदर्शी, निष्पक्ष र सहभागितामूलक थियो भन्ने आधारमा पनि स्थापित हुन्छ। त्यसैले काभ्रे(२ मा उठेको विवादको निष्पक्ष निरूपण गर्दै रोकिएको निर्वाचन प्रक्रिया विधानअनुसार अघि बढाउन सम्बन्धित निर्वाचन निकायले आवश्यक निर्णय लिनुपर्ने माग उम्मेदवारहरूले गरेका छन्।
सहमति लोकतन्त्रको सुन्दर पक्ष हो, तर विधि र प्रक्रियाको विकल्प होइन।
यस विषयमा जिल्ला निर्वाचन समिति वा केन्द्रीय निर्वाचन कार्यालयको आधिकारिक प्रतिक्रिया तथा निर्णय प्राप्त भएपछि घटनाक्रम थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


