काठमाडौं, कात्तिक ११
एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनःस्थापानपछि जेनजीसहितको सहभागितामा सर्बदलीय सरकार गठन गरेर आगामी २१ पmागुनमै निर्वाचन गर्न सकिने मार्गचित्र अगाडि सारेका छन् ।
२३ र २४ भदौको जेनजी आन्दोलनबाट सत्ताच्युत तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलवार भक्तपुरको गुण्डुस्थित निवासबाट त्यस्तो नयाँ मार्गचित्रसहितको प्रस्ताव अगाडि सारेका हुन् । एमाले आबद्ध मानवअधिकार क्षेत्रमा कार्यरतहरुको संगठन मानवअधिकार एलान्यसको प्रतिनिधिमण्डलसँग ओलीले त्यस्तो प्रस्ताव अगाडि सारेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
‘वर्तमान संकटको समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मार्गचित्र’ नाम दिएर ६ ओटा बुँदा रिजालले सार्बजनिक गरेका छन् । जसअनुसार असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्ने ओलीको पहिलो प्रस्ताव छ । ३१ असोजमा सम्पन्न केन्द्रीय कमिटीबाटसमेत एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि जनपरिचालन र जनआन्दोलनमार्फत दबाब दिने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा पुनस्र्थापनालगत्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गर्न सकिने ओलीको दास्रो मार्गचित्र छ । पुनःस्थापित प्रतिनिधिसभापछि आफू दोहोरिएर प्रधानमन्त्री नबन्नेसमेत ओलीले मार्गचित्रमा प्रष्ट्याएका छन् । ‘जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट’ रिजालले ओलीको तर्फबाट सार्बजनिक गरेको मार्गचित्रमा भनिएको छ ।
त्यसपछि जेन–जीसहितको सहभागितामा सर्वदलीय÷सर्वपक्षीय सरकार गठन गर्नुपर्ने भन्दै ओलीले त्यही सरकाले तीन महिनाभित्र निर्वाचन गर्ने भन्दै त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव भएको जिकिर पनि गरेका छन् । संविधान र लोकतन्त्रलाई लिकमा ल्याउने सबै कामको सुनिश्चितताका लागि राजनीतिक दलहरुबीच अग्रिम सहमति निर्माण गरिनुपर्ने ओलीको प्रस्ताव रहेको पनि रिजालले जानकारी गराए ।
